• Friday 16th of October 2026

ससुराको विवादित जग्गामा सैनिकसहित ‘रिटायर्ड जर्नेल’ आएपछि स्थानीय त्रसित


  • धनकुटा खबर
  • .

पोखरा । पुस ३, मध्यान्न १२ बजे । नेपाली सेनाको हरियो गाडी पोखराको गगनगौंडामा पुगेर टक्क अडियो । गाडीबाट बर्दीवाला सैनिक झरे, सँगै झरे नेपाली सेनाका ‘रिटायर्ड जर्नेल’ विज्ञानदेव पाण्डे । विजयपुर ब्यारेकका जर्नेलले चढ्ने गाडी लिएर निस्किएका पाण्डेलाई बर्दीवाला सैनिकसहित देखेपछि स्थानीय केहीबेर तर्सिए पनि । गाडीबाट झरेर उनी सरासर पूर्वतर्फको जग्गातिर मोडिए । त्यसपछि कड्किन थाले, ‘यो जग्गा ८ भाग लाग्छ । तिमिरुले केही पाउँदैनौँ ।’

२०२२ सालदेखि खेती कमाउँदै आएका मोहीहरूलाई भेटेर पाण्डेले ससुरालीको जग्गा भागबण्डा अदालतको आदेश अनुसार हुने चेतावनी दिएका हुन् । त्यो जग्गा उनको होइन, उनको ससुराली तर्फको अंशबण्डा विवादित हो । विवादित जग्गामा ‘रिटायर्ड जर्नेल’ले तर्साउने गरी सैनिक मार्चपास गराएको मोहीहरूको आरोप छ । ‘उहाँ को हो किन आउनुभयो थाहा भएन । बर्दीवाला आर्मीले घेरेका थिए । हाम्रो कुरा पनि नसुनि थर्काउनुभयो,’ मोही लक्ष्मी मल्ल ठकुरीले भनिन्, ‘गार्डसहित लिएर आउनुभयाे । ८ भाग लगाउने हो, अरू कसैलाई चिन्दैनन् भन्नुभयो ।’

आर्मी नै ल्याएर थर्काउन थालेपछि असुरक्षा महसुस गरेको मोहीहरु बताउँछन् । पाण्डेले करिब साढे ४ घण्टा त्यहाँ बिताएका थिए । ‘सामान्य मान्छेलाई त सेना पुलिस भनेपछि डर लाग्छ नि । आर्मीहरू यता र उता गर्न थालेपछि को डराउँदैन ?,’ ठकुरी भन्छिन्, ‘अहिलेसम्म यस्तो देखेको थिइनँ । आफैले कमाइआएको जग्गामा बस्दा यत्रो डर मान्नुपर्ने भयो ।’

मोही कर्णबहादुर मल्ल मोहीयानी अधिकार नछोड्ने बताउँछन् । ‘हामीले २२ सालदेखि दुख गरेको ठाउँ हो । बाआमाको जिन्दगी यहीँ गयो । हाम्रो पनि जान लाग्यो । हाम्रा छोराछोरीको जिन्दगी पनि यहीँ जान्छ,’ उनले भने, ‘हिजो सहमति भएर पो छोडेको हो । मोही हक हाम्रो पनि लाग्छ । हामी पनि त्यसै छोड्दैनौँ । आर्मी आएपनि पुलिस आएपनि हामी हाम्रो थलो छोड्दैनौँ ।’ मोहीहरुले १२ वर्षअघि त्यहाँ छुट्टाछुट्टै टहरा पनि बनाएका छन् ।

‘बुबाकै पालादेखि मार्दैनौँ, मुद्दामामिला नगर्दिनुस् भन्नुभयो । हामी अदालत गएनौँ । अहिले दिनदिनै नयाँ नयाँ मान्छे आएर थर्काउँछन्,’ अर्का मोही विष्णुबहादुर मल्ल ठकुरीले भने, ‘अरू मान्छे चिन्दैनौँ अरे । २२ सालदेखि कमाएको हामीले हो । त्यो पाउनुपरेन ?’ अंशियारकै सहमतिमा टहरा बनाएको उनले बताए ।

अंशियार भरत रायमाझीले टहरा बनाउने सहमति आफूले दिएको बताएका छन् । ‘मैले नै बनाउनुस् भनेर बनाएको टहरा हो,’ उनी भन्छन्, ‘अंशबण्डाको कुरा हामी दाजुभाइ बिचको हो । तर २२ सालदेखिका मोहीलाई त्यसै हटाउने कुरा आउँदैन । उनीहरूलाई चित्त बुझाउने दायित्व हामी सबैको हो ।’ यो जग्गामा २०२२ सालदेखि नै विवाद थियो । पटकपटक अड्डा अदालत गरेर २०५० अघि सबै ठीकठाक बनेपनि पछि दाजुभाइले अंशबण्डाको मुद्दा हाले । अहिले सर्वोच्चले ८ दाजुभाइको हुने फैसला गरिदियो । मोहीहरुले त्यहाँ ४ वटा घर बनाएका छन् । त्यहाँ भएको ४८ रोपनीलाई अंशियार सरह भागबण्डा गरेर मोहीको चित्त बुझाउने सहमति रहेको रायमाझीले सुनाए । मोही अम्मर मल्ल ठकुरीका सन्तान ५ भाइ छन् ।

२०२५ सालदेखि त्यही ठाउँमा बस्दै आएका छिमेकी पूर्णभद्र पोखरेल पाण्डेको गतिविधि गलत भएको बताउँछन् । ‘यसरी दिनदाहडै बर्दीवाला लिएर तर्साउन पाइँदैन । ससुरालीको जग्गा भन्दैमा थर्काउने अधिकार उहाँलाई छैन,’ उनले भने, ‘मोहीले पाउने जग्गा नछुट्याई अरू भाग लगाउन हामी पनि दिँदैनौँ ।’

विजयपुर व्यारेकका निमित्त पृतनापति अर्जुन खड्का घटनाबारे आफू अनविज्ञ रहेको बताउँछन् । ‘गाडी लगेको पनि मलाई थाहा छैन । गाडी कहाँ गयो, के घटना भयो मलाई केही जानकारी छैन,’ उनले भने । घटनाबारे बुझ्न सम्पर्क गर्दा पाण्डे सम्पर्कमा आएनन् । -tatopati

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖