काठमाडौँको पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा मृत फेला परेकी युवतीको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
गेस्ट हाउसमा युवतीको हत्या गरेर सँगै बसेका युवक ढोकामा बाहिरबाट चाबी लगाएर फरार भएको पाइएको छ। उनको पहिचान भइसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
मृतक कागेश्वरी मनोहरा नगरपालिकाकी २२ वर्षीय सुस्मिता खड्का हुन्। उनी जापान जाने तयारीमा रहेको परिवारले प्रहरीलाई जानकारी दिएका छन्। उनीहरू बौद्धमा बस्थे।
गेस्ट हाउसमा सँगै बसेका युवकको पनि प्रहरीले पहिचान गरिसकेको छ। उनी बिहीबार नै जापान फर्किने तयारीमा रहेको बुझिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
ती युवक केही समयअघि मात्रै जापानबाट फर्किएका हुन्। उनीहरू नयाँ वर्षको अघिल्लो दिन गेस्ट हाउसको कोठा नम्बर ३०८ मा बसेका थिए।
बुधबार दिउँसो ढोका नखुलेपछि गेस्ट हाउसका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएको काठमाठडौँ प्रहरी परिसरले जानकारी दिएको छ।
आफन्तले प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएका छन्।-नेपाल खबर
