• Friday 16th of October 2026

बुद्ध एयरको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १/१ लाख जरिवाना


  • धनकुटा खबर
  • .

विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ। बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख रुपैयाँ जरिवाना तिराइएको हो।

जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ। जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई रु एक/एक लाख सहयोग गरिएको हो।

बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए। प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौँका लागि उक्त विमान उडेको थियो।

यसैगरी काठमाडौँबाट जनकपुरका लागि गत अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो। जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए।

उक्त घटनापछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए। विमानको प्राविधिक जाँचका लागि काठमाडौँबाट टेक्निकल टिम गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो। यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो।

अनाहकमा आपतकालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ। यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा क्रमशः एक लाख रुपैयाँ क्षतिपूर्ति तिराइएको थियो।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रूपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन्। आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ।

हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ।

विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउन पनि सक्छन्। कम्पनीले अनाकहमा आकस्मिक ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम रु एक लाख तिराइ तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖