नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी पुरुष एलिट कप प्रतियोगितामा देखिने छैनन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुरुष एलिट कप मधेश प्रदेशको राजधानी जनकपुर र वीरगन्जमा हुँदै छ । २१ पुसमा सुरु हुने प्रतियोगिता ३ माघसम्म चल्नेछ ।
क्यानका संस्थापक अध्यक्ष जयकुमार नाथ शाहको स्मृतिमा जय ट्रफी पुरुष एलिट कप हुन लागेको हो । तर, उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका कप्तान पौडेल भने सहभागी हुनेछैनन् ।
क्यानले जय ट्रफीमा सन् २०२४ को फेब्रुअरीमा काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमलाई मात्रै सहभागी गराउने निर्णय गरेकाले कप्तान पौडेलले प्रतियोगिता खेल्न नपाउने भएका हुन् । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, बागमती र मधेश प्रदेशले शीर्ष चारमा स्थान सुरक्षित गरेका थिए ।
तर, रोहित सम्मिलित विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब भने शीर्ष चारमा पर्न सकेन । त्यसैले एपीएफले जय ट्रफीमा सहभागिता जनाउने छैन । रोहितसँगै एपीएफबाट खेलेका लोकेश बम र सन्दीप जोरा पनि जय ट्रफीमा देखिने छैनन् ।
