एजेन्सी । भारतको छत्तीसगढ राज्यस्थित बिजापुर सहरमा हराइरहेका एक जना पत्रकारको शव शौचालयको सेप्टिक ट्याङ्कमा फेला परेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनाबारे जानकारी दिँदै प्रहरीले शुक्रवार हत्याको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।
मृतकको पहिचान ३३ वर्षीय मुकेश चन्द्राकरका रूपमा भएको छ । मुकेश स्वतन्त्र पत्रकारका रूपमा समाचार च्यानलहरूका लागि काम गर्थे भने ‘बस्तर जंक्शन’ नामक युट्युब च्यानल पनि सञ्चालन गर्दै आइरहेका थिए ।
मुकेश चन्द्राकर बुधवार, जनवरी १ मा हराएका थिए । उनका दाजु युकेश चन्द्राकरले भोलिपल्ट प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले मुकेशको मोबाइल ट्र्याक गर्दै बिजापुरको चट्टानपारा बस्तीस्थित ठेकेदार सुरेश चन्द्राकरको घरमा पुगेको थियो । त्यहाँको सेप्टिक ट्याङ्कमा मुकेशको शव फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनाबारे जानकारी दिँदै प्रहरीले ठेकेदार सुरेश चन्द्राकरको सम्पत्तिमा शव फेला परेको र यस घटनामा संलग्न हुनसक्ने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।
स्थानीय पत्रकारहरूले मुकेशले सडक निर्माणमा भएका अनियमितताबारे केही समाचार गरेका कारण उनको हत्या भएको हुनसक्ने बताएका छन् । तर, हत्या किन र कसरी गरिएको हो भन्ने विषयमा अहिलेसम्म ठोस प्रमाण फेला परेको छैन ।
प्रहरीले घटना सम्बन्धी थप विवरणका लागि शवको पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिरहेको छ । घटनाले स्थानीय सञ्चारकर्मीमाझ त्रासको वातावरण सिर्जना गरेको छ ।
