कपिलेश्वर । हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका-९ निवासी सञ्चारकर्मी श्यामसुन्दर पुडासैनीको शनिबार देवीघाटमा दाहसंस्कार गरिएको छ ।
पुडासैनीलाई शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् तादी र त्रिशूली नदीको संगम देवीघाट नुवाकोटमा दाहसंस्कार गरिएको हो ।
शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै राती १० बजे हृदयघातका कारण अचेत भएका पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पुर्याएएको थियो । तर अस्पताल पुगे लगत्तै उनलाई चकित्सकले मृत घोषणा गरेका थिए ।
दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा जिल्लास्थित स्वतन्त्र पत्रकार, पत्रकार महासंघका पदाधिकारी, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता सुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।-नुवाकोट एक्स्प्रेस
