काठमाडौं । देशका केही स्थानमा मंगलबार वर्षा भएको छ । छिटपुटदेखि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र (दिउँसो साढे ३ बजेसम्म) ललितपुरमा पनि पानी परेको छ । मंगलबार दिउँसो लगनखेल, जावलाखेलमा ‘फाटफुट’ पानी परेको महाशाखाका मौसमविद् निर्मला रेग्मीले जानकारी दिइन् ।
“वर्षाको रेकर्डहरू संकलन गर्दै छौँ । उपत्यकाको दक्षिण क्षेत्रमा पानी परेको छ, लगनखेलमा फाटफुट पानी पर्यो” ।काठमाडौंमा पानी पार्ने खालको बादल विकास भएको थियो । पानी नै परेको अवस्था भने होइन ।
कास्कीको लुम्ले, रोल्पा, बागलुङ, लमजुङको खुदीबजार, धनकुटालगायत स्थानमा वर्षा मापन गरिएको उनले बताइन् । “छिटपुटदेखि हल्का वर्षा हो, ठूलो पानी परेको होइन,” उनले भनिन् ।
देशका केही स्थानमा हिमपात पनि भएको छ । सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, सोलुखुम्बुको लुक्लामा हिमपात भएको उनले जानकारी दिइन् ।
काठमाडौंमा आज साँझसम्म वर्षाको सम्भावना रहेको उनले बताइन् । “साँझसम्म छिटपुट वर्षाको सम्भावना देखिन्छ, वर्षा भइहाले पनि एक/दुई ठाउँमा हुने हो,” उनले भनिन् ।
हिउँदयाममा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने हो । पानी पार्ने यो प्रणालीले मनसुनजस्तो ठूलो प्रभाव नपार्ने उनले स्पष्ट पारिन् ।
“मनसुनजस्तो यो ठूलो स्थानमा हुँदैन, आइसोलेटेड टाइपको, केहीकेही स्थानमा हुने हो,” उनले भनिन्, “हामीले उपत्यकाका एकरदुई स्थानमा वर्षा हुने भनेका थियौँ ।” महाशाखाले यसअघि काठमाडौंसहित देशका केही स्थानमा वर्षाको पूर्वानुमान गरेको थियो ।
पश्चिमी न्यूनचापीय प्रणाली धेरै मजबुत नहुने र यसले ठूलो क्षेत्र नओगट्ने उनको भनाइ छ । बदली (आकाशमा बादल)भए पनि आजै साँझदेखि त्यो क्रमिक रूपमा घट्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।
