• Friday 16th of October 2026

शिक्षकको कुटाईबाट ६ वर्षीय बालकको आँखा फुटेपछि


  • धनकुटा खबर
  • .

शिक्षिकाको पिटाईबाट पश्चिम नवलपरासीमा एक ६ वर्षीय बालकको आँखा फुटेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–३ स्थित एच पाठशालामा कक्षा युकेजीमा अध्यनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको सोही विद्यालयकी एक शिक्षिकाले पिट्दा आँखा फुटेको हो ।

शिक्षकको पिटाईबाट बालकको आँखामा गम्भीर चोट लागि आँखाको ज्योति नै गुमाउनुपरेपछि पीडित पक्षले न्यायको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । आयोगमा दिईएको उजुरी अनुसार घटना गत मंसिर १८ गतेको हो ।

घटना भएको एक महिना पछि मात्रै पीडितका परिवारले न्यायका लागि बालबालिकाको क्षेत्रमा कार्यरत सिविन नेपाललाई गुहारेपछि घटना बाहिरिएको बताईएको छ । घाईते बालकको उपचार तथा क्षतिपूर्तिको विषयमा विद्यालयले चासो नदेखाएपछि प्रहरी, सिविन नेपाल, राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायलाई गुहार्नुपरेको बालकका बुबा नरेन्द्र चौधरीले बताउनुभयो ।

उहाँका अनुसार कक्षामा पढाउने क्रममा लठ्ठीले पिट्दा बालकको देव्रे आँखा फुटेको छ । बालकलाई तत्कालै उपचारका लागि काठमाडौँ लगिएकोमा चिकित्सकले आँखा फुटेको आयोगमा दिईएको उजुरीमा उल्लेख छ। घटनापछि ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएपनि कुनै कारवाही प्रक्रिया अगाडि नबढेको उहाँले गुनासो गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख हरिप्रसाद ज्ञवालीले उजुरी प्राप्त भए लगत्तै सम्बन्धित निकायमा बुझ्ने र आवश्यक अनुसन्धान गर्ने काम भईरहेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले उक्त घटनामा संलग्नमाथि कारवाहीका लागि मुद्धा दर्ता भई आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान कार्य अघि बढिसकेको जानकारी दिनुभयो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖