• Sunday 1st of November 2026

कांग्रेस सभापति देउवाका भतिजी ज्वाइँलाई बढुवा गर्न सशस्त्रको नियमित बढुवा रोकियो


  • धनकुटा खबर
  • .

काठमाडौं। सशस्त्र प्रहरी बलमा लामो समयदेखि तीन डिआइजीको पद रिक्त भएको छ। भदौमा दुई डिआइजी घर गएपछि पाँच महिनासम्म दुई डिआइजीको बढुवा हुन सकेन भने केही दिन अघि एक डिआइजी रिक्त हुँदा त्यसमा पनि पदपूर्ति हुन सकेको छैन।

एसएसपी दीपेन्द्र कुँवरलाई डिआइजी बनाउनकै लागि यसरी समयमा डिआइजीको पदपूर्ति हुन नसकेको सशस्त्र प्रहरीका उच्च अधिकृतको दावी छ।
ब्याच मिचेर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र कुँवरलाई बढुवा गर्नका लागि यसरी रोकिएको सशस्त्र मुख्यालय स्रोतको दावी छ।

कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजी ज्वाइँ (सभापति देउवाका स्वकीय सचिव भानु देउवाका बहिनीज्वाइँ) भएकाले उनकै दबाबमा बढुवा रोकिएको स्रोतको दावी छ।

व्याचीलाई उछिनेर अहिले डिआइजीमा बढुवा भए भावी आइजीपीका लागि सहज हुने भएकाले भानु देउवामार्फत सशस्त्र प्रहरीको नेतृत्वलाई रोकेको स्रोतले जनाएको छ। तर गृहमन्त्रालयको सशस्त्र प्रहरीको डिआइजी बढुवा नभएको विषयमा केही बताउन चाहेन।

मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले यो विषय आफूलाई जनाकारी नभएको बताए। ‘तपाईंले उठाउनु भएको विषय मलाई जानकारी छैन’, उनले भने। सशस्त्र प्रहरीमा १६ भदौदेखि दुई डिआइजीको पद रिक्त भएकोमा गत साता थप एक पद रिक्त भएको थियो।

तर, अझै सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवाको सुरसार गरेको छैन। राजनीतिक हस्तक्षेपकै कारण डिआइजीमा बढुवा हुन नसक्दा तल्लो तहसम्मकै पदोन्नतिको प्रक्रिया रोकिएको छ। यसबाट सयौं प्रहरी अधिकारी मारमा परेका छन्। सशस्त्र प्रहरीमा हाल तीन डिआइजी, तीन एसएसपी, १५ एसपी, २५ डिएसपी र ७४ इन्स्पेक्टरको पद रिक्त छ। डिआइजीको बढुवा रोकिँदा रिक्त रहेका अन्य पदमा पनि बढुवा प्रक्रिया अवरुद्ध हुन पुगेको छ।

यसरी तीन महिनाभन्दा लामो समय पद रिक्त राख्नु अदालतको समेत अवहेलना हुने अवस्था छ। सर्वाेच्च अदालतले ०७५ मा सुरक्षा निकायमा कुनै रिक्त रहेको तीन महिनाभित्र बढुवाबाट पदपूर्ति गर्न सरकारलाई परमादेश दिएको थियो। जुन परमादेश कार्यान्वयन नभएकाले अहिले अदालतको अवहेलना मुद्दा आकर्षित हुने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारी बताउँछन्।

नेपाल प्रहरीका पूर्वएसएसपी यादवराज खनालले दायर गरेको रिटमा सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान र डम्बरबहादुर शाहीको इजलासले भनेको छ, ‘पदपूर्ति समिति वा बढुवा समिति र सोको पदाधिकारीको अकर्मण्यता कुनै पनि प्रहरी अधिकृत-कर्मचारीहरूको भाग्यमा प्रहार गर्ने संयन्त्र बन्न हुँदैन। बढुवा समितिले आफ्नो जिम्मेवारी समयमा पूरा नगर्दा प्रहरी संगठनले किटान गरेको लक्ष्य प्राप्ति पनि नहुने र संस्थाको हितको अनुकूल पनि नहुने हुँदा अब प्रहरी ऐन नियमअन्तर्गत बढुवाको सन्दर्भमा जिम्मेवार पदपूर्ति समिति र बढुवा समितिलगायतका निकायहरूले आफ्नो काम, कर्तव्य र अधिकारहरूको प्रयोग पूर्वतयारीका साथ क्यालेन्डर बनाएर कार्यतालिकाअनुसार आवश्यक सिफारिस वा सम्भाव्य उम्मेदवारका लागि प्रतिस्पर्धालगायतका आवश्यक प्रक्रिया अगाडि बढाई समयमा बढुवासम्बन्धी निर्णय गरी अनिवार्य रूपमा क्यालेन्डर पूर्ण रूपमा लागू गर्न नियमावलीले तोकेको अवधिमा नै बढुवासम्बन्धी कार्य सम्पन्न गर्नू-गराउनू भनी विपक्षीहरूको नाउँमा निर्देशनात्मक आदेश जारी गरिदिएको छ।’

दीपेन्द्र कुँवर ०५९ मा भर्ना भएका सशस्त्र प्रहरीको दोस्रो ब्याचका अधिकृत हुन्। इन्स्पेक्टरमा भर्ना हुँदा ७४औँ स्थानमा रहेका उनलाई डिएसपीबाट एसपी बनाउँदा १०औं नम्बरमा तानिएको थियो भने एसपीबाट एसएसपीमा पहिलो नम्बरमा तानिएको थियो।

उनी कार्यसम्पादनमा भने कमजोर एसएसपी हुन्। शक्तिकेन्द्रको आडमा उनी आफ्नो ब्याचमा पहिलो नम्बरमा बढुवा मात्र भएनन्, बढुवा भएदेखि सशस्त्र प्रहरीको आकर्षक मानिने प्रबन्धक महाशाखामा कार्यरत रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖