दिल निसानी लेख्छन, ‘ हिजो जनता मूर्ति चोर्नेहरूसँग रिसाएका थिए। आज जनता पशुपतिनाथको जलहरी गायब पार्नेहरूसँग रिसाएका छन्। हिजो ज्ञानेन्द्र शाहलाई गैँडाको खाक बेचेको आरोप लगाउनेहरूले पनि आज क्विन्टलका क्विन्टल सुन तस्करी गरेको जनताले देखेका छन्। जनताले यो पनि देखेका छन्—बर्दी लगाएको प्रहरी कुट्न पारस शाह नै हुनु पर्दैन रहेछ।
हिजो जनतामाथि सैन्य संकटकाल थियो, आज जनतामाथि आर्थिक संकटकाल छ। लाखौँ युवाहरू विदेशीको हरुवा-चरुवा हुनु परेको छ। हली प्रथा नेपालमा अन्त्य भयो, तर रोमानियाका खेत बारीहरुमा सुरु भएको छ। दास प्रथा नेपालबाट हट्यो, तर कुवेतका भिलाहरूमा ‘केयर गिभर’को नाममा हजारौँ नेपाली चेलीहरू बन्धक बनेका छन्। यही कुरा बुझेर राजावादीहरू चलमलाइरहेका छन्।
तर मलाई विश्वास छ, दरबारको पर्खाल भित्र हैन झुपडीमा बस्ने नेपाल आमाको कोखबाट पनि जन्मिन सक्छन् ली क्वान यु, महाथिर मोहम्मद, शिन्जो आबे, र मोहम्मद बिन राशिद अल मकतुमहरू। यही भिरपाखाहरुमा पनि हुर्किन सक्छन् फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ जूनियर, ए.पी.जे. अब्दुल कलाम, हो चि मिन्ह, र ह्युगो चाभेजहरू।’
