• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राजसंस्था पुनर्स्थापनाका लागि अघि सारिएका ८६ वर्षीय वृद्ध नेता नवराज सुवेदी भन्छन्, ‘ज्ञानेन्द्रकै कारण नेपालमा खुलेन ओमेगा घडीको उद्योग’


  • धनकुटा खबर
  • .

एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो। त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ। कुरा चल्दै गयो। राजाबाट हुकुम भयो, “मेरो भाई– छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैंले एक उद्योग गर भनेर दिएकै छ। अब अरू दिनुपर्दैन। कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ भयो, तिमीले भन्दिनू।”

यो कुरा प्रधानमन्त्रीले भन्नुभयो कि भएन थाहा पाइनँ तर त्यसपछि मलाई दबाउ आएन। तर, उहाँहरू पार्टीहरूमा भेट हुँदा पनि मसँग बोल्नुहुन्नथ्यो।

श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध शुरुदेखि नै राम्रो भएन। पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन। यसका मुख्य दुई कारण छन्– प्रथमतः २०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा (घडी) कारखाना थियो।

ओमेगा (ओमेगा वाच) ले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो। कुरा राम्रो थियो। अतः विश्व ब्यांकको वार्षिक साधारण सभाको मिटिङबाट फर्कंदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्ने र कुरा पनि गर्ने भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो। वाशिङ्टनबाट फर्कँदा म, भेषबहादुरजी र डा. पुष्करनाथ पन्त हामी तीन जनाले ओमेगा फ्याक्ट्री पनि हेर्‍यौं र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि गर्‍यौं।

उनीहरूको एउटै मात्र शर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौं भन्ने थियो। यो शर्त मन्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालु गछौं भन्ने उनीहरूको भनाइ थियो। हामीहरूले ओमेगा जस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुर दियौं।

तर, काठमाडौं आएपछि अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा शेयर (अंश) चाहियो, जुन कुरा मैले ठाडै इन्कार गरे। यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन। ज्ञानेन्द्र सरकार पनि मसँग रिसाइबक्स्यो। जे होस्, दरबारमा प्रधानमन्त्री र मेरो बीचमा सरकारबाट बक्सेको निर्देशनले मलाई काम गर्न सजिलो भयो।

(पूर्वमन्त्री एवं राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत रहेका नवराज सुवेदीलिखित, जगदम्बा प्रकाशनद्वारा प्रकाशित ‘इतिहासको एक कालखण्ड’को एक अंश)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖