काठमाडौँ – विवाह गर्ने वित्तिकै ६० बर्षिया बृद्धले विष सेवन गरेका छन् । भारत बिहारको मुंगेर जिल्लाका ६० वर्षीय मुसहरु यादवले बेहुली लिएर घर आए लगत्तै विष खाएका हुन् । बेहुली लिएर घर पुगेका यादवलाई छोरा सुरजले घर पस्न नदिएपछि विष पिएर आत्महत्या प्रयास गरेको विहार प्रहरीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यादवले गाउँकै एक महिलासँग १५ मार्चमा विवाह गरेका थिए । विवाहपछि बेपत्ता भएका उनी १७ मार्चका दिन बेहुली लिएर घर फर्किएका थिए ।
घर पुग्नासाथ छोरा सुरजसँग उनको विवाद भयो । बुढेसकालमा विवाह गरेर आफूहरूलाई लज्जित बनाएको भन्दै सुरज आफ्ना पितासँग रिसाए । उनले पिता मुसहरु र नवविवाहित महिलालाई घरमा पस्नसमेत दिएनन् । विवाद बढेपछि नवविवाहित महिला त्यहाँबाट आफ्नै घरमा फर्किन् ।
आफ्नै घरभित्र पस्न नपाएको र आफूले बिहे गरेर ल्याएकी पत्नीलाई छोराले अस्वीकार गरेको रिसमा मुसहरुले विष खाए । पिताले विष खाएको थाहा पाएलगत्तै छोराले उपचारका लागि स्थानीय अस्पतालमा लगे । त्यहाँबाट पनि उनलाई मुंगेरस्थित सुविधासम्पन्न अस्पतालमा पठाएर उपचार गरिएको छ ।
मुसहरु यादवका अनुसार उनले गाउँकै एक श्रमिक महिलासँग विवाह गरेका हुन् । आफ्नो पहिलो पत्नीको १५ वर्ष अघि नै निधन भइसकेका कारण दोस्रो विवाह गरेको उनको भनाइ छ । नवविवाहित पत्नीका पनि एक छोरा र एक छोरी रहेको उनले बताए ।
