राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो जलाउनेलाई पक्राउ गरिनुपर्ने बताएका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाएकै कारण आफूलाई पक्राउ गरिएको र पूर्वराजा ज्ञानेन्द्रको फोटो जलाउनेलाई भने केही नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘मैले तपाईँले विगतमा गरेको कमजोरी विर्सनु भएको हो भनेर उहाँलाई जानकारी गराउनका लागि फोटो जलाएको मलाई हत्कडी लगाइयो । म गृहमन्त्रीलाई भन्न चाहन्छु– राजाको फोटो जलाउने दलालहरुलाई कहिले मात्छ ? प्रचण्डको फोटो जलाउँदा मलाई हत्कडी लगाउने अनि राजाको फोटो जलाउनेलाई कहिले समाउने ?’ प्रश्न गर्दै उनले भने ।
