काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूसँग निहुँ खोज्दा राजतन्त्र ढल्न पुगेको बताएका छन् । उनले आफैँ निहुँ खोजेर पल्टिएको राजसंस्था फेरि फर्काउने दिवास्वप्न नदेख्न पूर्वराजालाई चेतावनी दिए ।
२०६२÷०६३ को जनआन्दोलनमा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) पार्टीबाट सक्रिय सहभागिता जनाएका नेता श्रेष्ठले रातोपाटीसँग कुरा गर्दै ज्ञानेन्द्रको कमजोरीकै कारण राजसंस्था नेपालबाट छिटै बिदाबारी हुन परेको तर्क गरे ।
‘२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले दलहरूसँग निहुँ खोजेकाले नेपालबाट राजसंस्थाको सोचेभन्दा पहिल्यै अप्रत्याशित रूपले बहिर्गमन भएको हो,’ श्रेष्ठले भने, ‘शान्त रूपमा बसेको भए, खोपीको देउता जसरी बसेको भए राजाले गल्ती गर्दैन भन्ने आम मानिसलाई रहेको विश्वास नहटाएको भए त्यति छिटै नेपालमा गणतन्त्र आउँदैनथ्यो । राजसंस्था हट्दैनथ्यो ।’
राजा हुन नपाउँदै ज्ञानेन्द्रले आफू दाइ (उनीभन्दा अघिका राजा वीरेन्द्र शाह)जस्तो टुलुटुलु हेरेर नबस्ने बताएकाले दलहरू उनीविरुद्ध आन्दोलनमा होमिएको र अप्रत्यासितरूपमा राजतन्त्र बहिर्गमनमा परेको श्रेष्ठले बताए ।
‘२०६१ सालमा राजा आफैले निहुँ खोजेको हो, राजा हुन पाएको छैन म दाइजस्तो टुलुटुलु हेरेर बस्ने राजा होइन भने । निहुँ खोजेपछि दलहरूले आन्दोलन गर्न बाध्य भए, त्यसपछि उनीसँग नारायणहिटी दरबारबाट बहिर्गमनमा पर्नुको विकल्प रहेन,’ श्रेष्ठले भने ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जसरी ज्ञानेन्द्रले पनि दबाउन खोज्दा राजसंस्थाप्रतिको विश्वास छिटै गुमेको उनको भनाइ थियो । ‘ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते जे गरेका थिए त्यही गर्न खोज्दा अवस्था बिग्रिएको जगजाहेरै छ । ०१७ सालमा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालामाथि सैनिकको बलमा कु गरेका थिए । प्रजातन्त्रको हत्या गरे । प्रजातन्त्रसम्बन्धी व्यवस्था खारेज गरे । पार्टी प्रतिबन्ध लगाए । निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात गरे,’ श्रेष्ठले भने, ‘ज्ञानेन्द्रले बाउ (महेन्द्र)को सिको गरेर २०६१ माघ १९ गते निर्वाचित प्रधानमन्त्रीलाई हटाएर थुने । दलहरूमाथि प्रतिबन्ध लगाए । शासनको बागडोर आफै सम्हाले । आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे । ज्ञानेन्द्रले निहुँ खोजेपछि दलहरू आन्दोलनमा जान प¥यो । सात पार्टी मिलेर २०६२÷०६३ को जनआन्दोलन गरेर गणतन्त्र ल्यायौँ ।’
उनले आफैँ गल्ती गरेर बदलिएको व्यवस्था फर्काउने फेरि कुचेष्टा नगर्न ज्ञानेन्द्रलाई चेतावनी दिए । ‘आफैँ गल्ती गरेर पल्टाएको व्यवस्था फेरि फर्काउने कुचेष्टा नगरे हुन्छ,’ श्रेष्ठले भने, ‘करिब २० वर्षपछि फेरि राजा हुन्छु भनेर दिवा स्वप्न नदेखे हुन्छ । त्यो हुन हामी कदापि दिँदैनौ ।’
उनले मुलुकमा आएको गणतन्त्र नउल्टिने बताए । ‘गणतन्त्र उल्टिन्न, यसमा ढुक्क भए हुन्छ,’ उनले भने ।
अन्य मामिलामा दलहरूबिच बेमेल रहे पनि संविधान र व्यवस्थाबारे सहमति रहेको उनको भनाइ छ । ‘संविधान सभामार्फत जनप्रतिनिधिले जनताका लागि बनाएको संविधानमा लेखिएका अपरिवर्तनीय कुरा कदापि परिवर्तन हुन दिँदैनौ । त्यसका लागि २०६२/६३ मा मिलेर आन्दोलन गरेका दलहरू एकजुट छौँ ।’
संविधानको संरक्षणमा कांग्रेसले कम्प्रोमाइज नगर्ने भन्दै श्रेष्ठले भने, ‘कांग्रेस एक भएर संविधान र व्यवस्था संरक्षण गर्छ । यसमा कुनै कम्प्रोमाइज हुँदैन । हुन दिन्नौँ ।’
