• Friday 30th of October 2026

पत्रकार पक्राउको विरोधमा रास्वपा, समाचारकै आधारमा धरपकड गर्नु संविधानविपरीत : प्रवक्ता खरेल


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको स्पष्ट पारेको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता संविधानप्रदत्त मौलिक हक भएकाले समाचारकै विषयमा पत्रकारलाई पक्राउ गर्नु अस्वीकार्य हुने बताएका हुन्।

उनले पत्रकारलाई पक्राउ गर्ने वा समाचार कक्षमा गएर धरपकड गर्ने कार्य पार्टीको आधिकारिक नीति नभएको उल्लेख गर्दै यसले संविधान र प्रेस स्वतन्त्रताको मर्मविपरीत हुने बताए।

यद्यपि, पछिल्लो घटनाबारे सबै विवरण प्राप्त नभएकाले पार्टीले आन्तरिक छलफल गरिरहेको र वास्तविकता बुझेर आधिकारिक धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए।

यसैबीच, आज नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका छन्। प्रहरीहरूले मैनालीलाई नलगी कार्यालयबाट नफर्किने अडान लिएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖