• Friday 30th of October 2026

ऊर्जामन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणाको सिकार बन्न पुगेका कुलमान


  • धनकुटा खबर
  • .

काठमाडौ । ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङलाई पदमुक्त गर्नका लागि लामो समयदेखि प्रयास गरिरहेका थिए। उनले बारम्बार घिसिङसँग स्पष्टीकरण सोधेका थिए र उनको कार्यसम्पादन मूल्यांकनमा शून्य अंकसमेत दिएका थिए। यो स्थिति असहज बन्दै गएपछि, खड्काले मन्त्रिपरिषद् बैठकमा कुलमानलाई हटाउने प्रस्ताव ल्याएका थिए। एक मन्त्रीका अनुसार, खड्काले चारपटकसम्म यो प्रस्ताव उठाएका थिए, तर प्रधानमन्त्री केपी ओलीले सल्लाह गरेर निर्णय स्थगित गरिदिएका थिए।

आजको मन्त्रिपरिषद् बैठकमा, खड्काले फेरि कुलमानलाई हटाउने प्रस्ताव राख्दा, गृहमन्त्री रमेश लेखकले आपत्ति जनाए। उनले भने, “हाल कुलमानलाई हटाउने समय हैन, यदि अहिले हटायो भने अदालतले उनलाई फर्काइदिनेछ,” र यसलाई रोक्न प्रधानमन्त्रीलाई सचेत गराए। तथापि, खड्का कड्किएर लेखकलाई जवाफ फर्काए, “तपाईं चुप लाग्नुस्, यो निर्णय गर्नै पर्छ।”

परिस्थिति तीव्र भएपछि, प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई सोधे, “कसो गर्ने हो?” जसमा लेखक चुप लागे। त्यसपछि, परराष्ट्रमन्त्री आरजु राणा देउवाले घिसिङलाई हटाउनुपर्ने कुरा राख्दै, लेखकमाथि थप दबाब बढाईन्। आरजुले भनिन्, “विभागीय मन्त्रीले भनेपछि, अरूको कुरा सुनेर के हुन्छ, हटाउने भनेपछि हटाउनै पर्छ।”

गृहमन्त्री लेखकले यससँग असहमत हुँदै भने, “यो कुलमान हटाउने समय होइन, तर यदि मन्त्रीहरू जिद्दी गर्दै जानुहुन्छ भने, प्रधानमन्त्रीलाई जे ठिक लाग्छ, गर्नुहोस्।”

अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री विद्या भट्टराई मात्र गृहमन्त्री लेखकको पक्षमा थिए र कुलमानलाई हटाउने विरोध गर्दै थिए । अन्तिममा बाध्य भएर ओलीले कुलमानलाई हटाउने निर्णयमा सहमत भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖