• Friday 30th of October 2026

यी सांसदको हांसो भाइरल बनेपछि के भने ?


  • धनकुटा खबर
  • .

कर्णाली प्रदेशसभाको गत चैत २६ गतेको बैठकमा सांसद कलबहादुर हमालको हाँसो भाइरल बनेको छ। शून्य समयको सदुपयोग गर्न उठेका हमाल अचानक खित्का छाडेर हाँस्न थालेपछि सभामुखसहित अन्य सांसदहरू पनि हाँस्न थालेका थिए।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा हमालको हाँसो नै प्रमुख विषय बनेको देखिए पनि उनले सदनमा भने महत्त्वपूर्ण विषयहरू पनि उठाएका थिए।

सांसद हमालले भन्छन्, ‘म जहिले पनि उखान टुक्का गर्ने मान्छे भनेर चिनिन्छु। कतिपयले मलाई ‘कर्णालीको केपी’ पनि भन्छन्, तर म आफूलाई ‘केपी’ नभनेर ‘केबी’ भन्न आग्रह गर्छु। उक्त दिन म उखान टुक्का भन्न मात्र के लागेको थिएँ, सबै हासे। सबै हाँस्न थालेपछि म पनि हाँस्न थाले, हाँसो थाम्न सकिन।’

उनले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना नगर्न पनि आग्रह गर्दै भने, ‘म उहाँको चेलो हुँ, तर सानो कार्यकर्ता मात्र। म सदनमा उठेपछि ‘यसले के बोल्ला’ भन्ने कौतुहलता सबैलाई हुन्छ। त्यसैले पनि हाँसेका होलान्।’

त्यस दिन, हमालले सदनमा तीन मुद्दा पनि उठाएका थिए। पहिलो, हुम्लाको ग्रामीण विकासका लागि बजेट सुनिश्चित गर्नुपर्ने विषय। दोस्रो, ठेक्का लिने तर काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्दै विकासका कामलाई प्रभावकारी बनाउनुपर्ने। तेस्रो, आइएनजीओ र एनजिओहरू सुर्खेतमा मात्र सीमित नभई दुर्गम क्षेत्रहरूमा पनि पुर्‍याउनुपर्ने माग।

हमालले भने, ‘मैले यी तीन वटा गम्भीर विषय सदनमा राखेँ। तर, अहिले हाँसो मात्र भाइरल भयो। हासेको मात्र भए पछुतो लाग्यो। यी कुरा उठाए, मलाई पछुतो छैन।’

हमाल हुम्लाका समानुपातिक सांसद हुन्। उनी विभिन्न सामाजिक तथा विकाससम्बन्धी मुद्दा उठाउने सांसदका रूपमा चिनिन्छन्। अहिले उनको हाँसोको भिडियो चर्चामा आए पनि उनले उठाएका विषयहरूमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖