• Wednesday 28th of October 2026

हामी झोले हैनौ भन्दै एमाले कार्यकर्ताले नै दिए ओलीलाई काउन्टर


  • धनकुटा खबर
  • .

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा ‘म झोले हो’ लेखिएको एउटा पोष्टर नै सार्वजनिक गरे । ओलीले यो पोष्टर सार्वजनिक गरेपछी एमालेकै कतिपय कार्यकर्ताले त्यसलाई ‘काउन्टर’ दिन थालेका छन् ।

विराटनगरका पुराना एमाले नेता मीन आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म विचार बोक्ने र विचारलाई व्यवहारमा बदल्न सिकाउने अभियन्ता हुँ, झोले होइन ।’

उदयपुरका एमाले नेता विमल कार्कीले पनि सामाजिक सञ्जाल फेसबुकमै लेखेका छन्, ‘कुनै योग्यता, क्षमता नभएको, सही–गलत के हो छुट्ट्याउन नसक्ने, सके पनि विवेक प्रयोग गर्न नसक्ने, सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने, नेताले भनेको कुरा जस्ताको त्यस्तै लागु गर्ने, केवल चाकडी र चाप्लुसी गरी नेता खुसी तुल्याएर आफ्नो दुनो सोझ्याउने लगायतका लम्पटहरूलाई शब्दकोषमा भाषा शास्त्रले झोले भनेर अर्थ्याउँछ ।’

मालिकले दिमागमा जे भरिदिएको छ, त्यसैलाई अन्तिम सत्य ठान्ने अनि मस्तिष्कमा अरुकै विचारका पोका पन्तुरा बोकेर हिँडेको, आफ्नो भाग्य र भविष्यको कुनै फिक्री नलिने तर मालिकका लागि अत्यन्त चिन्तित, मालिकको अस्तित्व मै आफूलाई विलिन गराएको, मालिक रहे आफू पनि विजित हुने, मालिक नरहे संसारै नरहने सोच भएको पराश्रित मनुवालाई झोले भनिने जिकिर गर्दै उनले आफू त्यस्तो झोले बन्न भने किमार्थ तयार नरहेको उनले लेखेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले झोले अभियान चलाउनुको अन्तर्य उनमा कुटिल दम्भ लुकेको दाबी पनि कार्कीले गरेका छन् । ‘झोले अभियानको अन्तर्यमा भने बाको आफ्नै कुटिल दम्भ लुकेको छ, त्यो के भने मैले जे भन्छु र जे गर्छु, त्यो यिनीहरूमध्ये कसैले खुसीखुसीपूर्वक, कसै–कसैले विवशतापूर्वक र कसै–कसैले लाचारीका साथ खुरुखुरु र लुरुलुरु मान्नेछन् भन्ने देखाउँदै पार्टीमा आफ्नो पकड कुन हदसम्म छ भन्ने दुनियाँलाई देखाएका हुन्,’ कार्कीले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘यो प्रहसनमा यस पटक पनि बा सफल भई पार्टी राजनीतिको प्राधिकार भई छाडे । बधाई छ बालाई । बिडम्वना, देश जलिरहेको छ बालाई भने आफ्नै बाँसुरी बजाउन भ्याइ–नभ्याइ छ । कसैले त भनिदेऊ–बादशाह नाङ्गै छन् ।’

मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष तथा एमालेका नेता सुमन मिरिङचिङ मगरले पनि फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हामी त वामपन्थी पो हौँ त, झोलेसोले होइन ।’

उनले आफ्नो स्टाटसमा हात मिलाएको तस्बिर राखेर पार्टीको वैचारिक पहिचानमाथि प्रश्न उठाएका छन् ।

यस्तै, नेकपा एमाले मोरङका जिल्ला कमिटी सदस्य तथा कानेपोखरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष शुशील बुढाथाकीले सामाजिक सञ्जालमा ‘म एमाले’लेखेर सांकेतिक विरोध गरेका छन् । गत फागुनमा भएको एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा संस्थापन प्यानलबाट जिल्ला सदस्यमा चुनिएका बुढाथोकीलाई संस्थापन पक्षले टोली नेता बनाएको थियो ।

केराबारी गाउँपालिका एमालेका अध्यक्ष भीम कार्कीले लामो स्टाटस लेख्दै झोले अभियान हुन जरुरी नरहेको बताएका छन् । उनले भनेका छन्, ‘जो झोले अभियान चलेको छ, अध्यक्षज्यू हाम्रो नेतृत्व हो । तर उहाँका हरेक बोली वाणीको रूपमा लिनु नै सबैभन्दा असल कार्यकर्ता हुनु होजस्तो लाग्दैन मलाई ।’

उनले थप भनेका छन्, ‘नेकपा एमाले नेतृत्व, नेता र कार्यकर्ताको गल्तीलाई औँल्याउने र आलोचितहरूले गल्तीको स्वीकारोक्तिसहित आफ्ना व्यवहार सुधार गर्ने आलोचना र आत्मालोचनाको अभ्यासलाई पार्टी अनुशासनको मन्त्रको रूपमा प्रयोग गर्ने पार्टी हो ।’

एमालेकै बेलबारी नगर कमिटीका उपाध्यक्ष उदय बहादुर राई (राजु)ले नेताकै कारणले गणतन्त्र खतरामा परेको बताएका छन् । उनले भनेका छन्, ‘सबैले नैतिकवान बनी काम गरे, नेतृत्वले जिम्मेवारीसाथ आफ्नो जिम्मा पूरा गरे, जनप्रतिनिधिहरूले जनताप्रति जबाफदेही बने भने हामी कार्यकर्ताले झोले भन्नुनै पर्दैन ।’

उनले गल्ती सबै उनीहरूले गर्ने अनि झोले हामी बनिदिनुपर्ने भन्दै नेतृत्वको आलोचना गरेका छन् । ‘यो गणतन्त्र त नेताहरूबाटै खतरा भयो, कार्यकर्ता अनि जनताबाट होइन,’ उनले भने । उनले नेताहरूको चरित्र र व्यवहारले नै लोकतन्त्रमा सङ्कट निम्त्याएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖