• Wednesday 28th of October 2026

मोहन वैद्यको अवस्था गम्भीर,आइसियुमा उपचार हुंदै


  • धनकुटा खबर
  • .

काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । दमको समस्याबाट पीडित उनलाई महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएकोमा अहिले सघन उपचार कक्ष (आईसियु)मा राखेर उपचार गरिँदैछ ।

पार्टीका एक नेताका अनुसार वैशाख अन्तिम सातादेखि वैद्यमा स्वास्थ्य समस्या देखिएको र उनलाई गाह्रो हुँदै गएपछि जेठ १७ गते अस्पताल भर्ना गरिएको थियो । ७९ वर्षीय वैद्य लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित छन् । अस्पताल भर्ना गरिएलगत्तै आईसियुमा राखेर उपचार थालिएकोमा अझै जनरल वार्डमा सारिएको छैन ।

वैद्यको स्वास्थ्य अवस्था बुझ्न हिजो अस्पताल पुगेका सो पार्टीका नेता भन्छन्,‘डेढ हप्तादेखि उहाँ आईसियुमै हुनुहुन्छ, बाहिर निकालिएको छैन, उहाँको दमको स्टेज खतरा (एक्टिभ-टिबी-डि)मा प्रवेश गरेको कारण आईसियुमै राख्नुपर्ने बाध्यता रहेको डाक्टर सापहरुले सुनाउनुभयो ।’

गत वर्ष मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट दोस्रो पटक महासचिव चुनिएका वैद्य लगत्तै पुसमा बिरामी परेर करिब एक महिना अस्पताल भर्ना भएका थिए । कम्युनिष्ट नेता उत्पादनको कारखाना मानिने उनी यति लामो समयसम्म अस्पतालमा उपचाररत रहँदासमेत राष्ट्रिय राजनीति भने बेखबर छ ।

निष्ठा र आदर्शमा बाँच्ने औंलामा गन्न सकिने थोरै नेताको सूचीमा पर्ने वैद्य लाभको पदमा नपुग्ने थोरै वामपन्थी नेतामा पर्छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सांसद बनेका उनी छ महिनामै राजीनामा दिएर बाहिरिएपछि अहिलेसम्म लाभको पदमा पुगेका छैनन् । त्यसताका माओवादीले राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव राख्दा उनले अस्वीकार गरेको चर्चा थियो ।

तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरी २०६९ सालमा आफ्नै नेतृत्वमा नेकपा–माओवादी गठन गरेका वैद्य त्यसयता फुट र एकतासँगै पार्टीको नाम फेर्दै निरन्तर मुख्य नेतृत्वमा छन् । गत मंसिरमा सम्पन्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशनले उनलाई सर्वसम्मत महासचिव चयन गरेको थियो ।

तीनपटक मुलुकको प्रधानमन्त्री भइसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत राजनीतिक गुरु मानिने वैद्य सशस्त्र संघर्षका पक्षपाती हुन् । शास्त्रीय ढाँचाको कम्युनिष्ट पार्टीमा विश्वास राख्ने उनलाई जडसुत्रवादीको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖