• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बारबिक्यू गर्दा आगो सल्किंदा छोरीको मृत्यु, बाबुआमासहित ४ जना घाइते


  • धनकुटा खबर
  • .

चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१७ पिप्रहरस्थित चितवन टाइगर रिर्सोटमा बारविक्यू गर्ने क्रममा अचानक आगो सल्किंदा आगोले जलेकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

अघिल्लो शुक्रबार कावासोती नगरपालिका-८ निवासी प्रदीपकुमार भट्टराई परिवारका सदस्य र साथीभाइसहित रमाइलो गर्न सो रिर्सोटमा पुगेका थिए । प्रदीपकी ६ वर्षकी छोरी अन्नी भट्टराईको बिहीबार राति कीर्तिपुरस्थित वर्न हस्पिटलमा मृत्यु पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी यादव ढकालले बताए ।

घाइते भई सोही अस्पतालमा उपचार गराइरहेका प्रदीपले रिर्सोटमा बारविक्यू गर्दा रिर्सोटका एक स्टाफले पेट्रोल हालिदिंदा दन्किएको आगोले आफूहरु जलेको बताएका छन् ।

सो घटनामा ४४ वर्षीय प्रदीप, उनकी ४१ वर्षीया श्रीमती मीना पौडेल, प्रदीपले सञ्चालन गरेको ‘द नेक्स्ट कन्सल्टेन्सी’मा कार्यरत कर्मचारीहरू २६ वर्षका असिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका छन्।

प्रदीप स्थानीय मध्यविन्दु कलेजमा पढाउनेसमेत गर्दछन् । उनका थप दुई जना साथी र उनका छोरा सो घटना हुँदा नजिक नरहेका कारणले पोलिनबाट जोगिएका छन् ।

रिर्सोटका म्यानेजर सागर पराजुलीले शुक्रबार राति साढे ९ बजेको समयमा घटना भएको बताए । उनले घटना के कसरी भयो भन्ने बारेमा आफूहरु पनि अचम्मित भएको सुनाए । ‘प्रदीप सर मेरो पनि साथी हो, झण्डै एक वर्षपछि आउनुभएको हो रिर्सोटमा । उहाँहरुलाई आउनुस् भनेर बोलाएको पनि हो, म त होटलको म्यानेजर भएसँगै उहाँहरूसँगै बसेर खाने कुरा भएन, उहाँहरु रमाइरहनुभएको थियो, तर अचानक यस्तो घटना भयो’, म्यानेजर सागरले भने, ‘उहाँहरु आफैंले दिउँसोबाट नै बारविक्यू गर्ने भनेर गर्नुभएको हो, हाम्रो स्टाफले कोइला थपिदिने बित्तिकै ह्वाररै आगो बल्यो ।’

होटल म्यानेजमेन्टसम्बन्धी ज्ञान रहेको भन्दै आफैंले बारविक्यू गर्नु भएको र आफूहरुले सर्पोट मात्रै गरेको सागरको दाबी छ ।

घटनापछि घाइतेहरुलाई उपचार चितवन मेडिकल कलेज लगेको र त्यहाँबाट रिफर गरेर काठमाण्डौं लगेको सागरले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकालले घटनाका बारेमा अनुसन्धान भैरहेको बताउँदै पीडितले भनेको जस्तैं पेट्रोल हालिएको हो वा हैन भन्ने बारेमा अनुसन्धान भैरहेको बताए ।

उनले होटलका कर्मचारीहरुसँग घटनाका बारेमा सोधपुछ गरिएको बताउँदै घाइतेहरु उपचारको क्रममा रहेकोले केही निको भएपछि थप बुझ्ने काम हुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖