• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

विवाह गरेको ६ महिनामै कलाकार कलकतियाबालीकी श्रीमती मृत भेटिइन्


  • धनकुटा खबर
  • .

अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

गत माघ महिनामा विवाह बन्धनमा बाँधिएका झा दम्पतीले गृह प्रवेश समारोह समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनीहरू धार्मिक विधिपूर्वक गृह प्रवेश गर्दै खुसी मुद्रामा देखिएका थिए। तर, सोमबार राति जनकपुरधाम उपमहानगरपालिका–१२ र २० को बीचमा रहेको नोचापुरस्थित घरमा अंशा मृत अवस्थामा भेटिएकी हुन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार घटनाबारे सोमबार राति नै जानकारी प्राप्त भएको हो। घटनास्थलको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले घरमा निगरानी बढाएको छ।

हालसम्म अंशाको माइती पक्ष नआएकाले कानुनी प्रक्रिया अघि बढाउन कठिन भइरहेको प्रहरीले जनाएको छ। माइती पक्ष उपस्थित भएपछि मात्र शवलाई पोष्टमार्टमका लागि पठाइनेछ।

प्रारम्भिक जानकारीअनुसार यो आत्महत्या भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म घटनाबारे निश्चित भनाइ दिन नसकिने स्पष्ट पारेको छ।

अहिले घटनास्थलमा स्थानीयवासीको भीड लागेको छ भने अभिनास झा मिडियामा बोल्न सक्ने अवस्थामा छैनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖