• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

खानेपानी कार्यालयकी कर्मचारी मृत फेला, डेरामा एक युवक पनि बस्ने गरेको खुलाशा


  • धनकुटा खबर
  • .

धनगढीस्थित खानेपानी कार्यालयकी एक कर्मचारी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छिन्। उनीसँगै एक युवक वस्ने गरेको खुलेको छ, तर प्रहरीले विस्तृत जानकारी दिएको छैन।

सोमबार बिहान धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा डेरा गरी बस्दै आएकी ३० वर्षीया रेणुका चौधरी मृत फेला परेकी हुन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरवस्ती घर भएकी चौधरी खानेपानी कार्यालयको मिटर रिडिङ गर्ने कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।

उनको डेराबाट दुर्गन्ध आएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घरको बाहिरबाट ताल्चा लगाइएको अवस्थामा प्रहरी पुगेपछि ताला फुटाएर प्रवेश गर्दा चौधरीको शव भेटिएको हो।

‘बाहिरबाट ताल्चा लगाइएको थियो, हामीले ताला फोडेर शव फेला पार्यौं,’ डिएसपी सिंहले भने। उनका अनुसार शवको घाँटी र चिउडोमा चोट देखिएको छ। ‘घाउ र खतको प्रारम्भिक विश्लेषणबाट हत्या भएको आशंका गरिएको छ,’ उनले भने।

प्रारम्भिक अनुसन्धानमा चौधरीसँग डेरामा एक युवक पनि बस्ने गरेको खुलेको छ। तर घटना कहिले घटेको हो भन्ने यकिन भइसकेको छैन। ति युवकको खोजी कार्य भइरहेको छ। ‘शव सडेको अवस्थामा भेटिएकाले मृत्यु कहिले भएको हो भन्ने तुरुन्त पत्ता लगाउन सकिएन,’ डिएसपी सिंहले बताए।

प्रहरीले चौधरीले कार्यरत खानेपानी कार्यालय, डेरा घरबेटी र अन्य नजिकका व्यक्तिहरूसँग बुझ्न थालेको छ। घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖