• Monday 5th of October 2026

मीनाको ह्याट्रिकमा श्रीलंकाविरुद्ध नेपालको शानदार जित


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकाविरुद्ध शानदार जित निकालेको छ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा आज सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ७–० ले गोलअन्तरले पराजित गरेको हो। खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो।

नेपालको जितमा मीनाले ह्याट्रिक गरिन् । उनले खेलको आठौँ, ४२औँ र ७०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। साथै पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक÷एक गोल गरे।

जितसँगै नेपालले ३ खेलबाट ६ अंक बटुलेको छ। समान खेलबाट बंगलादेशको ९ अंक छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ।

खेलको आठौँ मिनेटमै नेपालले अग्रता लियो। नेपालको लागि मीनाले सुरुवाती गोल गरिन्। त्यसपछि खेलको १३औँ मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।

खेलको ४२औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता बढाइन्। त्यसपछि पूर्णिमा एक्लैले पहिलो हाफमा दुई गोल थपिन्।

खेलको ७०औँ मिनेटमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले अर्को गोल थपिन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖