• Sunday 25th of October 2026

नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै


  • धनकुटा खबर
  • .

नक्कली भुटानी शरणार्थीको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ भइरहेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ।

यस इजलासले अब सुनुवाइलाई निरन्तर अघि बढाउने वा छुटेकाहरूलाई म्याद जारी गर्ने भन्नेबारे आदेश गर्न सक्ने सूचना अधिकारी श्रेष्ठले बताए।
‘मुद्दा अन्तिम अन्तिमतिर पुगिसकेको छ। सुनुवाइ निरन्तर हुन्छ वा आदेश हुन्छ भन्ने यकिन भइसकेको छैन,’ उनले भने।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो।

यस घटनामा ठगी, लिखत किर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा २०८० जेठ १० गते दायर भएको थियो।
पछि थप जाहेरीको आधारमा केशवप्रसाद दुलालसहित पाँच जनाविरूद्ध फेरि २०८१ वैशाख ९ गते पूरक अभियोग दर्ता भएको थियो र बेचन झा पक्राउ परेपछि उनीविरूद्ध साउन २९ गते पूरक अभियोग दायर भएको थियो।

यस मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङ्टावा शेर्पालगायत प्रतिवादी छन्।
दुई वर्ष बितिसक्दा पनि यो मुद्दाको अन्तिम किनारा भने लागिसकेको छैन।

भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयमा ८१ जनाले उजुरी दिएका थिए।
उनीहरूले ठगी गर्ने गिरोहका प्रमुख नाइके भनेर केशव दुलाल, सानु भण्डारी लगायतविरूद्ध उजुरी दिएका थिए।

आफूहरूसँग १३ करोड रूपैयाँ उठाएको भन्दै कैयन् प्रमाणसहित उनीहरूले उजुरी गरेका थिए। दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाको तर्फबाट सो उजुरी दर्ता गराएका थिए।

बुढाथोकी र रेग्मी दुवैले अमेरिका लैजाने भन्दै दाङमा मानिसहरू भेला गरी पैसा उठाएर गिरोहलाई बुझाएका थिए।

अमेरिका जान उनीहरूको परिवारले पनि पैसा बुझाएको थियो। अमेरिका जान नपाएपछि पीडितहरूले पैसा मागेर उनीहरूलाई नै र्‍याखर्‍याख्ती पार्न थाले। त्यसपछि उनीहरूले दुलाल र गुरूङविरूद्ध कार्यालयमा उजुरी दिएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖