• Sunday 25th of October 2026

प्रधानमन्त्रीको सचिवालयले नै छोड्न सकेन सामाजिक सञ्जाल, फेसबुक र ह्वाट्सएपमा सक्रिय


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बन्द गर्ने हिजो निर्णय लियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले नै ‘प्रतिबन्धित’ सामाजिक सञ्जाल प्लेटफर्महरू अनवरत प्रयोग गरिरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयको फेसबुक पेजदेखि ह्वाट्सएप ग्रुपसम्ममा यथावतरुपले सूचना सम्प्रेषण भइरहेको पाइएको हो । पीएम सेक्रेटेरियट नामको फेसबुक पेजबाट केही बेरअघि मात्रै एमाले विधान महाधिवेशनसम्वन्धी स्टाटस समाचार र तस्बिरहरू पोस्ट भएका छन् ।

उक्त स्टाटसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरू प्रयोग गरिएका छन् । यही पेजबाट हिजो राति एमालेको सचिवालयका तस्बिरहरू पनि पोस्ट भएका थिए ।

सचिवालयको ह्वाट्सएप ग्रुपबाट पनि धमाधम सूचना र तस्बिरहरू सम्प्रेषण भइरहेकै छन् । अधिकांश पत्रकारहरूलाई जोडिएको यो ग्रुपले प्रधानमन्त्रीका हरेक गतिविधिहरूलाई कभर गर्ने गरेको छ । आज विधान महाधिवेशनका तस्बिरहरू सचिवालयले ह्वाट्सएप ग्रुपमा हालेको छ ।

एमालेको आधिकारिक फेसबुक पेज हिजो रातिसम्म एक्टिभ थियो । सरकारले प्रतिबन्धको निर्णय गरिसकेपछि हिजो राति पौने ९ बजे एमालेको फेसबुक पेजबाट ‘सूर्य खबर’ नाममा समाचार बुलेटिन प्रसारण भएको थियो । आज भने यो पेजबाट केही पनि पोस्ट भएको छैन ।

प्रधानमन्त्री ओली स्वयम् सामाजिक सञ्जालमा सक्रिय नेता हुन् । उनले भने प्रतिबन्धपछि केही पनि पोस्ट गरेका छैनन् । प्रधानमन्त्रीको पेजबाट हिजो बिहान लोक गायिका इन्दिरा गोले गुरुङको निधनप्रति शोक व्यक्त गरिएको थियो ।

त्यसयता कुनै नयाँ पोस्ट भएको छैन । यस्तै, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भने पछिल्लो पोस्ट १ सेप्टेम्बरमा गरेका थिए । उनी सामाजिक सञ्जालमा त्यति धेरै सक्रिय थिएनन् ।

सरकारको निर्देशनसँगै सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले ‘अवैध’ सामाजिक सञ्जालहरू बन्द गरेका छन् ।

वर्ल्ड लिंक लगायत आइएसपीहरुले पनि ती प्लेटफर्महरूलाई धमाधम निष्क्रिय बनाइरहेका छन् ।

सामाजिक सञ्जालहरू निष्क्रिय भएसँगै कतिपयले भीपीएन डाउनलोड गर्ने क्रम बढेको छ ।

प्रधानमन्त्रीको सचिवालयले ती प्लेटफर्महरू चलाइरहँदा भीपीएनमार्फत नै हो कि भन्ने आशंका उब्जेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖