• Friday 23rd of October 2026

काठमाडौंमा बिहानदेखि पुनः बढाइयो कर्फ्युको समय, भिआइपी निवास र क्षेत्रमा पूर्ण प्रतिबन्ध


  • धनकुटा खबर
  • .

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीका विभिन्न संवेदनशील क्षेत्रमा जारी गरेको कर्फ्युको समय थप गरेको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु अब मङ्गलबार बिहान ५ बजेसम्मका लागि बढाइएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार, शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर, नारायणहिटी दरबार सङ्ग्रहालय, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी रहनेछ। यी क्षेत्रहरूमा सर्वसाधारणको आवागमन पूर्ण रूपमा निषेध गरिएको छ।

विशेष गरी, नयाँ बानेश्वर क्षेत्रमा कर्फ्युको दायरा फराकिलो बनाइएको छ। बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्वमा मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तरमा आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र दक्षिणमा शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यु आदेश लागू हुनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालयले यसअघि सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्युको घोषणा गरेको थियो। शान्ति सुरक्षा कायम राख्न र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी यो आदेश जारी गरिएको प्रजिअ रिजालले स्पष्ट पारेका छन्।

काठमाडौँमा हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिनका लागि प्रशासनले यो कदम चालेको बुझिएको छ। सर्वसाधारणलाई तोकिएको समय र क्षेत्रमा आवागमन नगर्न र प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖