आमाको उपचारका लागि औषधि किन्ने पैसा नहुँदा काठमाडौँको वीर अस्पताल परिसरमा भौतारिँदै गरेका दैलेखका १२ वर्षीय बालक अकबर खानलाई अभियन्ता आशिका तामाङले आर्थिक सहयोग गरेकी छन्। तामाङले अकबर र उनकी आमालाई अस्पतालमै पुगेर १ लाख ५० हजार रुपैयाँ सहयोग गरेकी हुन्।
अकबर खान वीर अस्पतालमा डाक्टरले लेखिदिएको औषधिको कागज बोकेर अस्पताल वरपर घुमिरहेको अवस्थामा देखिएका थिए। उनले बीमाले औषधि नदिने र बाहिरबाट किन्नुपर्ने तर महँगो औषधि किन्ने पैसा नभएको पीडा सुनाएका थिए। अकबरकी आमाको मुटुमा गम्भीर समस्या रहेको छ भने उनका बुबाको यसअघि नै निधन भइसकेको छ।
अकबरको अवस्था देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अभियन्ता आशिका तामाङले मानवीय सहयोगका लागि पहल गरेकी हुन्। उनले आर्थिक सहयोगसँगै अकबरलाई मोबाइल फोन र न्यानो कपडा पनि उपहार दिएकी छन्।
सहयोग हस्तान्तरणका क्रममा तामाङले अकबरको पढाइ निरन्तर गराउन सहयोग गरिदिन सबैसँग अनुरोध पनि गरेकी छन्। उनले आर्थिक अभावका कारण कुनै पनि बालक शिक्षा र उपचारबाट वञ्चित हुनु नपर्ने भन्दै मानवीय संवेदनशीलता आवश्यक रहेको बताइन्।
