• Thursday 8th of October 2026

काठ तस्करी गर्न नदिएपछि चौकीदारको हत्या, चप्पल र बन्चरोले खुल्यो रहस्य


  • धनकुटा खबर
  • .

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन विकास परियोजनाका एक चौकीदारको बीभत्स हत्या भयो । शनिबार पुस १९ गते बिहान गस्तीमा गएका ५२ वर्षीय रामेश्वर महतो कोइरीको शव दिउँसो परियोजना क्षेत्रमै टाउको छिनाइएको र रक्ताम्य अवस्थामा प्रहरीले फेला पारेको थियो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले सोही वडाका रामबलि महतोलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट अवैध काठ चोरी र चौकीदारले त्यसलाई रोक्ने प्रयास गर्दा भएको पुरानो रिसइवीका कारण हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सरोज राईले दिएको जानकारी अनुसार ईश्वरपुर नगरपालिका–२ राईटरखोर टोल घर भई सागरनाथ वन विकास परियोजनाको चौकीदारका रूपमा कार्यरत रामेश्वर महतो कोइरी पुस १९ गते बिहान करिब ५ बजे आफ्नो घरबाट साइकलमा एक्लै परियोजनाको प्लट नं. १० को जंगलमा गस्ती गर्न गएका थिए ।

परिवारका सदस्यहरूले पटक–पटक गर्दा लागे पनि कोइरीको फोन भने उठेन । केही समयपछि फोन स्वीच अफ भयो । त्यसपछि आत्तिँदै परिवारले खोजी गर्न थाले । खोजी गर्दै जाँदा दिउँसो करिब साढे २ बजे ईश्वरपुर नगरपालिका–२ राइटरखोरघाट टोलस्थित परियोजनाको प्लट नं. १० को जंगलमा कोइरीको शव भेटियो, वनमाराको झाडीमा कोइरीको मृत शरीर टाउको छिनाइएको र रक्ताम्य अवस्थामा फेला परेको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी टोली घटनास्थलमा खटियो । घटनास्थलनजिकै रगत लागेको बन्चरो र कालो रंगको एक जोर चप्पल फेला परेको प्रहरीले बताएको छ ।

स्थानीय व्यक्तिहरूले उक्त चप्पल र बन्चरो ईश्वरपुर नगरपालिका–२ राइटरखोर टोलकै रामबलि महतोको भएको खुलाए । रामबलि प्रायः जंगलमा काठ दाउरा काट्न जाँदा यही बन्चरो बोकेर जाने गरेका स्थानीयले बताएका छन् ।

यसैलाई आधार मानेर प्रहरी टोली तत्कालै रामबलिको घर पुग्यो, प्रहरीले उनलाई घरअगाडि नै भेट्टायो र तत्काल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले रामबलिको घर खानतलासी गर्‍यो । उनको सुत्ने कोठाभित्र झुण्ड्याइएको ज्याकेट र जिन्स पाइन्टमा रगतका छिटाहरू भेटिनुले प्रहरीको अनुसन्धान थप बलियो बन्यो । शंकास्पद अवस्थामा फेला परेका ती कपडाहरू प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖