हिजोसम्म धुलाम्मे सडकमा भोक र उपेक्षा सहेर बाँचेको एउटा वेवारिसे कुकुर आज विश्वकै चर्चित ‘शान्ति दूत’ बनेको छ।
उसको नाम हो— अलोका। सन् २०२२ मा भारत भ्रमणमा रहेका बौद्ध भिक्षुहरूलाई पछ्याउँदै सुरु भएको अलोकाको यो यात्रा अहिले अमेरिकाको वासिङ्टन डिसीतर्फ मोडिएको छ।
१९ जना बौद्ध भिक्षुहरूसँगै अलोकाले अमेरिकाको टेक्सासदेखि ह्वाइट हाउससम्मको २,३०० माइल (३,७०० किलोमिटर) लामो ‘वाक फर पिस’ (शान्ति पदयात्रा) गरिरहेको छ।
संस्कृतमा ‘प्रकाश’ अर्थ लाग्ने अलोकाले कुनै प्रशिक्षण बिना नै भिक्षुहरूसँगै ध्यान गर्ने र अनुशासित भएर हिँड्ने अनौठो स्वभाव देखाएको छ।
निधारमा प्राकृतिक ‘मुटु’ को चिन्ह भएको यो कुकुर अहिले इन्टरनेटमा भाइरल छ। इन्स्टाग्राम र टिकटकमा लाखौँ प्रशंसक कमाइसकेको अलोकालाई भेट्न अमेरिकी सडकहरूमा मानिसहरूको घुइँचो लाग्ने गर्छ।
युद्ध र हिंसाले थलिएको विश्वलाई एउटा अबोध जनावरले प्रेम र करुणाको सबैभन्दा ठूलो पाठ सिकाइरहेको छ। अलोकाको यो यात्राले प्रमाणित गरिदिएको छ कि शान्तिका लागि शब्द होइन, केवल एउटा सफा मन र समर्पित पाइला भए पुग्छ।-कुलचन्द्र बिष्ट
