ललितपुर । गोदावरी नगरपालिका–७ देउराली डाँडामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
२७ वर्षीय विनोद तामाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
पारिवारिक विवादका क्रममा आक्रोशित बनेका विनोदले कोपिलामाथि चिर्पट प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेकी कोपिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या गरेपछि अभियुक्त विनोद आफैँ प्रहरी चौकी टिकाभैरव पुगेर घटनाबारे जानकारी गराएका थिए।
आफैँले श्रीमती मारेको जानकारी दिन आएका विनोदलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
