सुर्खेत । सल्यानको शारदा नगरपालिका–२ खलंगामा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
दुर्घटनामा परी अटोमा सवार ११ मध्ये १० जना घाइते भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । घाइतेमध्ये ७८ वर्षीय वृद्ध र ३ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्ण बहादुर केसीको नेतृत्वमा खटिएको ९ जनाको टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको थियो । अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी भने सकुशल रहेका छन् ।
प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र नभएको पाइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
