जनकपुरधाम : धनुषामा तेल ट्यांकरको ठक्करबाट एक प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा ना ७ ख ३७१८ नम्बरको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकलमा सवार प्रहरी असई देवानन्द फनैतको मृत्यु भएको प्रहरीले जनाएको छ।
मकवानपुर चित्लाङ दरबन्दी भई हाल ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत फनैत दुर्घटनामा गम्भीर घाइते भएका थिए।उपचारका लागि उनलाई मोडल अस्पताल लालगढ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–९ निवासी करिब ४५ वर्षीय रामकिशोर महतो गम्भीर घाइते भएका छन्।
प्रहरीले ट्यांकर चालक मोरगं उर्लाबारी नगरपालिका–१ निवासी करिब ३६ वर्षीय दुर्गा माझीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
