• Wednesday 7th of October 2026

बस दुर्घटनामा हाम फालेर बाँचेका जोशीले दिए यस्तो बयान


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा बिहीबार भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका अमरराज जोशीले ढोकाबाट हाम फालेर ज्यान जोगाएको बताएका छन्।

उनका अनुसार उकालो मोडमा बसले घुम्न नसकेपछि चालकले ‘ब्याक’ गर्दा ब्रेक नै नलागी बस भिरालोमा खसेको थियो।

‘उकालोमा मोड थियो, चालकले मोड्न सकेनन्। बस ब्याक गइरहेको बेला जसोतसो ढोकाबाट हाम फालेँ। त्यहाँ उत्तिसको रुख रहेछ, त्यहीँ अड्किएर बाँचेँ,’ जोशीले भने।

उनी सामान्य घाइते मात्र भएका छन्। दुर्घटनापछि उनले स्थानीयवासी र प्रहरीलाई खबर गरेका थिए।

जोशीका अनुसार बसमा दुलही पक्षका आफन्तसहित ठूलो संख्यामा जन्ती सवार थिए। ‘बेहुलीको घरबाट फर्कँदै गर्दा बाटोमा पर्ने माइतीपट्टीका आफन्तहरू पनि बसमा चढ्नुभएको थियो,’ उनले बताए।

देवीदेवताप्रति आस्था राख्ने जोशीले आफूले पुनर्जीवन पाएको अनुभूति व्यक्त गरे। ‘भगवानकै कृपाले बाँचेँ जस्तो लाग्छ। अब जीवन समाजका लागि केही राम्रो काम गर्न चाहन्छु,’ उनले भने।

पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लिएर फर्किरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको जन्ती बस बिहीबार साँझ बडगाउँ मोडमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖