• Wednesday 7th of October 2026

नख्खु जेलबाट भागेर बालेनको डेरा फोड्ने ‘सिरियल चोर’, दुई सहयोगी पनि खोरमा


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) को डेरामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको नख्खु कारागारबाट फरार भएर उपत्यकामा शृंखलाबद्ध चोरी मच्चाइरहेका मुख्य योजनाकारसहित तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नियन्त्रणमा लिएको हो।

काठमाडौं महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको बालेनको कोठा फोडेर चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले यो गिरोहलाई समातेको हो। पक्राउ पर्ने मुख्य अभियुक्त नख्खु कारागारबाट भागेका ४२ वर्षीय मनिष राजवाहक हुन्।

जेलबाट भागेर चोरी धन्दा

काठमाडौं–१६ बालाजु स्थायी घर भएका राजवाहक पेसेवर चोर भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। नकबजनी चोरी मुद्दामा साढे ३ वर्ष कैद सजाय काटिरहेका उनी २०८२ साल भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए। जेलबाट भागेपछि उनले बालेनको डेरासहित ५ ठाउँमा चोरी गरेको स्वीकार गरेका छन्।

उनले विशेषगरी निर्माणाधीन घरबाट धारा, टुटी तथा अन्य घरहरूबाट चाँदीका भाँडाकुँडा र महँगा समान चोर्ने गरेका थिए। प्रहरीले उनलाई माघ २३ गते बाँसबारीस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको हो। उनको साथबाट चोरी गर्न प्रयोग हुने पिलास, सलाई रेन्ची, रेती, स्क्रु ड्राइभर जस्ता औजारहरू बरामद भएको छ।

चोरीका सामान लुकाउने दुई सहयोगी पनि पक्राउ

मनिषले चोरेर ल्याएको सामान व्यवस्थापन गर्ने र लुकाउन सहयोग गर्ने थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर भई धादिङको खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ छन्।

बालुवा डिपो सञ्चालक समेत रहेका खिमबहादुरले मनिषले चोरेका सामानहरू बिक्री वितरण गर्ने गरेका थिए। उनको कोठाबाट चाँदीका थाली, कचौरा तथा सुनजस्तो देखिने नक्कली गहनाहरू बरामद भएको छ। खिमबहादुर यसअघि बैंकिङ कसुर मुद्दामा फरार सूचीमा रहेका व्यक्ति हुन्।

त्यस्तै, अर्का सहयोगी सञ्जय श्रेष्ठले चोरीका ल्यापटपहरू लुकाउन सहयोग गरेका थिए। उनले मनिषलाई ८ हजार रुपैयाँ दिएर ल्यापटपहरू धितो राखेको प्रहरीले जनाएको छ। धादिङस्थित उनको डेराबाट बालेनको कोठाबाट चोरिएको एप्पलको म्याक बुक प्रो, डेल कम्पनीको ल्यापटप र सिसिटिभीको डिभिआर बरामद भएको छ। सञ्जय र मनिषको चिनजान रामेछाप कारागारमा भएको थियो। सञ्जय यसअघि जबरजस्ती करणी मुद्दामा सजाय भोगेका व्यक्ति हुन्।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖