• Wednesday 7th of October 2026

लोकसेवामा नाम निस्किएको खबर नपाउंदै अस्ताइन पशुपति,भाई बहिनीको सहारा बन्ने सपना अधुरै


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुरमा लोक सेवा परीक्षामा सफल भएकी खबर थाहा नपाउँदै एक युवतीको दुखद मृत्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ। जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भई हाल तुलसीपुर–७ टरिगाउँ एयरपोर्ट अगाडि डेरा गरी बस्दै आएकी २२ वर्षीया पशुपती घर्ती मगरको माघ २२ गते दुर्घटनामा मृत्यु भएको हो। लोक सेवा आयोगको तयारी गरिरहेकी पशुपती कृषि सेवा पाँचौँ तह प्राविधिक सहायक पदमा उत्तीर्ण भएकी थिइन्, तर त्यो खुसी परिवारसँग साट्न नपाउँदै उनी सदाका लागि अस्ताइन्।

पशुपती जाजरकोटकै पदमबहादुर सिंहको घरमा डेरा गरेर बस्दै आएकी थिइन्। सोही घरमा जाजरकोटका अन्य युवायुवती पनि लोक सेवा तयारीका लागि बसेका थिए। डम्मरबहादुर घर्ती मगर र जदाकुमारीकी जेठी छोरी पशुपतीका दुई भाइ र दुई बहिनी छन्। उनले यसअघि पनि लोक सेवा परीक्षा दिएकी थिइन्। तीन पटक लिखित परीक्षामा नाम निकाले पनि अन्तर्वार्तामा असफल भएपछि उनी अझ बढी मेहनतका साथ तयारीमा जुटेकी थिइन्। बुबा डम्मरका अनुसार पशुपती सधैँ भन्थिन्, “जसरी पनि सरकारी जागिरे बन्छु, तपाईंहरूले गरेको दुःखको ऋण तिर्छु, भाइबहिनीलाई पढाउँछु।” यही कारण उनी परिवारकी सबैभन्दा ठूलो आशा बनेकी थिइन्।

माघ २२ गते दिउँसो बुबा डम्मर जंगलमा घाँस काटिरहेका बेला इलाका प्रहरी कार्यालय तुलसीपुरबाट फोन आयो। छोरी गम्भीर बिरामी भएकाले तुरुन्त आउन भनियो। घरसम्म मोटरबाटो नपुगेकाले डम्मर डेढ घन्टा पैदल हिँडेर गाडी चढ्ने ठाउँ पुगे र हतार–हतार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल आइपुगे। तर अस्पतालमा पुगेपछि उनले छोरीलाई जीवित भेट्न सकेनन्। चिकित्सकले पशुपतीको मृत्यु भइसकेको जानकारी दिए।

पछि बुझ्दा पशुपती घरको छतबाट खसेकी थिइन्। घटनाको दिन उनी आफ्नै कोठामा बस्ने साथी अम्बिका घर्तीसँग छतमा घाम ताप्न जाने योजना बनाएकी थिइन्। अम्बिका लुगा धोइरहेकाले पशुपती अर्की साथी मिना सिंहसँग छतमा पढ्दै बसेकी थिइन्। केहीबेरपछि उनीहरू तल झर्ने क्रममा पशुपती सन्तुलन गुमाएर खसेकी थिइन्। दिउँसो करिब ३ः५५ बजे अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यही पीडादायी घटनापछि परिवारले पोस्टमार्टम गरी शव गाउँ पुर्‍यायो। माघ २४ गते अन्त्येष्टि सम्पन्न गरियो। अन्त्येष्टि सकेर फर्कँदै गर्दा परिवारले अर्को झन् पीडादायी खबर थाहा पायो—पशुपती कृषि सेवा पाँचौँ तहमा लोक सेवा परीक्षामा उत्तीर्ण भएकी रहिछन्। पुस ९ गते पोखरामा दिएको परीक्षामा सहभागी २ हजार २५२ जनामध्ये १ हजार ३८१ जना उत्तीर्ण हुँदा पशुपतीको पनि नाम समावेश थियो।

छोरीको सफलताको खबर ढिलो थाहा पाएर बुबा डम्मर भावुक हुँदै भन्छन्, “उसले आफ्नो खुसी साट्न नपाउँदै सदाका लागि अस्ताइ।” घरकी जेठी छोरी, परिवारको भरोसा र भविष्यका सपना एकाएक चकनाचुर हुँदा परिवार अझै शोकमा डुबेको छ। पशुपतीको असमय निधनले मेहनत, संघर्ष र सपनाको कथा अधुरै छोडेर गएको छ, जसले धेरैको मन छोएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖