• Wednesday 7th of October 2026

बस दुर्घटनाका पीडितमाथि अश्रु ग्यास र हवाई फायर


  • धनकुटा खबर
  • .

रामेछाप। मन्थली नगरपालिका-६ मा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरेका छन्।

प्रदर्शनका क्रममा गेटमा तोडफोडको प्रयास भएको भन्दै प्रहरीले अश्रु ग्याँस प्रहार गर्नुका साथै हवाई फायर गरेको छ।

बुधबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका मृतक तथा घाइतेका आफन्तले कार्यालयको मूल गेटमा धक्का दिएपछि प्रहरीसँग ठेलाठेल भएको थियो। स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै प्रहरीले ३ राउण्ड अक्सुल ग्याँस र १ राउण्ड हवाई फायर गरेको जनाएको छ।

घटनापछि प्रदर्शनकारी झन् आक्रोशित बनेका छन्। बुधबार साँझ अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा पनि क्षतिपूर्तिको विषयमा सहमति जुट्न सकेन। छलफलमा बस सञ्चालक कम्पनी पूर्वी अरनिको यातायात प्रालिका प्रतिनिधि उपस्थित नभएपछि निष्कर्षमा पुग्न नसकिएको प्रशासनले जनाएको छ।

सहमति नजुटेपछि मृतकका आफन्तले बुधबार बिहानैदेखि मन्थली नगरपालिका-६ को आकाशे र भैंसेश्वर क्षेत्र हुँदै जाने मन्थली-खुर्कोट सडक अवरुद्ध गरेका थिए। सडक अवरुद्ध हुँदा सवारी आवतजावत पूर्ण रूपमा प्रभावित भएको थियो।

काठमाडौँबाट मन्थली-खुर्कोट हुँदै पुष्पलाल राजमार्गमार्फत रामेछापको सिरिसे ढाँडे भएर ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ००१-०५ ख ९९७५ नम्बरको पूर्वी अरनिको यातायात प्रालिको यात्रुवाहक बस मंगलबार बिहान करिब १०ः४० बजे मन्थली नगरपालिका-६ स्थित बेनीघाट पुलनजिक अनियन्त्रित भई सडकबाट खसेर तामाकोसी नदीमा डुबेको थियो।

उक्त दुर्घटनामा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनमा केही मानिसहरु हराइ रहेका छन्।

मृतकका परिवारले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको सम्पूर्ण उपचार खर्च तथा दीर्घकालीन पालन-पोषणको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

तर बस सञ्चालक कम्पनीले यातायात व्यवस्था ऐनअनुसार बिमाबाट ५ लाख रुपैयाँ, किरिया खर्चबापत ५० हजार रुपैयाँ तथा कम्पनीका तर्फबाट थप प्रति मृतक ३०-३० हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पीडित पक्षले अस्वीकार गरेको छ ।

क्षतिपूर्तिको विषयमा सहमति नजुटेसम्म आन्दोलन जारी राख्ने पीडित पक्षले चेतावनी दिएका छन् । जिल्लामा अवस्था तनावपूर्ण बनेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖