भारतमा रोजगारी गर्दै आएका श्रीमानले कमाएको पैसाले रुकुमकी २५ वर्षीया जमुना रसाइलीको घरपरिवार सामान्य रूपमा चलिरहेको थियो। तीन वर्षका छोरा, सासू–ससुरा र देवरसँग बस्दै आएकी जमुना सामाजिक सञ्जाल प्रयोग गर्थिन्।
एक दिन व्हाट्सएपमा अपरिचित व्यक्तिले ठूलो धनराशिको चिठ्ठा परेको भन्दै लोभ देखायो। झन्डै ८–१० लाख रुपैयाँ पाउने आशामा उनले ठगले भनेअनुसार प्रक्रिया अगाडि बढाइन्। ‘चिठ्ठा पाउन पहिले तीन लाख जम्मा गर्नुपर्छ’ भन्ने बहानामा उनले स्थानीयसँग ऋण मागिन्, नपुग्दा आफ्ना सुनका गहना समेत बेचिन्।
रकम जम्मा गरिसकेपछि ती व्यक्ति सम्पर्कविहीन भए। त्यसपछि मात्रै आफू ठगीमा परेको यथार्थ उनले बुझिन्। गहिरो निराशामा डुबेकी जमुनाले श्रीमानलाई फोन गरी आत्महत्या गर्ने बताएपछि श्रीमानले धेरै सम्झाए— “जे भयो भइसक्यो, म कमाएर तिर्छु।” तर अन्ततः उनले “छोरालाई राम्रोसँग पाल्नुहोला” भन्दै ज्यान गुमाइन्।
आजभन्दा एक वर्षअघिको यो घटना डिजिटल ठगीको भयावह रूप र त्यसले निम्त्याउने मानसिक आघातको मार्मिक उदाहरण बनेको छ।
