काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तारा चुनाव चिह्न अंकित झण्डामाथि अपमानजनक व्यवहार गरेको आरोपमा सामाजिक सञ्जालमा आलोचना खेपिरहेकी बाराको निजगढकी सुबु धितालले सार्वजनिक रूपमा क्षमा मागेकी छन्।
धितालले भिडियो सन्देश जारी गर्दै विवाह समारोहमा जन्ती जाने क्रममा साथीहरूको प्रभावमा परेर उक्त झण्डासँग असम्मानजनक व्यवहार भएको स्वीकार गरेकी हुन्। उनले सो भिडियो बनाउने कार्यप्रति क्षमायाचना व्यक्त गर्दै आफूबाट गल्ती भएको बताएकी छन्।
भिडियो सन्देशमा उनले राजनीतिक सचेतनाको अभावका कारण यस्तो घटना भएको उल्लेख गर्दै सबै राजनीतिक दलप्रति सम्मान गर्नुपर्ने धारणा राखिन्। साथै, आफूजस्तै युवापुस्ताले यस्ता गतिविधि दोहोर्याउनु नहुने पनि आग्रह गरिन्।
यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले नेकपाको तारा अंकित झण्डा च्यात्ने, थुक्ने तथा जुत्ता पुछ्ने दृश्य देखिएपछि व्यापक आलोचना भएको थियो।
यस घटनापछि ‘जेन–जी रेडफोर्स’ की केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले सम्बन्धित युवतीले माफी नमागे कानुनी कारबाही अघि बढाइने चेतावनी दिएकी थिइन्।
