• Wednesday 7th of October 2026

गौर दंगाः वडाध्यक्ष तेली पनि प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

जनकपुरधाम । रौतहटको गौरमा भएको साम्प्रदायिक घटनापछि गौर नगरपालिका–६ का वडाध्यक्ष अवध विहारी प्रसाद तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सबगढा क्षेत्रमा सुरु भएको विवादलाई मत्थर पार्न सघाउनुको सट्टा भड्काउन भूमिका खेलेको आरोप लागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तेली नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित वडाध्यक्ष हुन् र पार्टी अध्यक्ष माधव नेपाल निकट मानिन्छन्।

प्रहरी उच्च स्रोतका अनुसार हिन्दु समुदायतर्फबाट हिंसात्मक गतिविधि बढाउन उक्साएको आरोप उनीमाथि लगाइएको छ। यद्यपि, घटनामा प्रत्यक्ष संलग्नता रहेको वा नरहेको विषयमा आधिकारिक पुष्टि भइसकेको छैन।

जिल्ला प्रशासन कार्यालय रौतहट का सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले वडाध्यक्ष तेलीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पुष्टि गरेका छन्।

यसअघि सोही घटनामा जनमत पार्टी का जिल्ला संयोजक एवं सोही वडाका पूर्व वडाध्यक्ष शेख जमशेदलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।

गौरमा भएको झडपपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले शान्ति कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖