पोखरा । चुनावको मिति १५ दिन पनि बाँकी नहुँदा तनहुँमा दीपकराज जोशीले एउटा भेला राखे आफ्ना समर्थकको । बाबुले लामो समय कांग्रेसको राजनीति गरेर बाहिरिएपछि तनहुँमा जोशी परिवारको छुट्टै प्रभाव छ ।
२०७९ को चुनावमा लड्दा गोविन्दराज जोशीले करिब ७ हजार मत ल्याए । त्यही बलमा हरेक चुनाव जोशी परिवारको वरपर घुम्थ्यो । यसपालि जोशी परिवारले निधो गर्यो, चुनावमा अरूलाई नसघाउने आफैँ उठ्ने ।
एमालेसँग मिलेर पनि ब्यासको मेयर हारेका दीपक जोशी स्वतन्त्र रूपमा तनहुँ– १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । चुनाव जित्न उनले फागुन पहिलो साता भेला राखेर दुई वटा समूह गठन गरे । एउटा मूल समिति र अर्को बुथ प्रतिनिधि परिचालन ।
मूल समितिमा ५ सय १ सदस्य थिए भने बुथ परिचालन समितिमा ६ सय १२ जना थिए । ४२ वटा वडा रहेको यहाँ जोशीले ६ हजारभन्दा बढी मत ल्याउने आकलन धेरैको थियो । चुनाव सकियो, मतगणना पनि भ्याइयो ।
तर, जोशीले जम्मा १ सय १३ मत पाए । प्रचारमा हिँडेका ३ सय ८८ जनाले उनलाई मत दिएनन् । बुथ प्रतिनिधि परिचालन गरेका पनि ४ सय ९९ जनाले उनलाई मत दिएनन् । जोशीले यो चुनावमा ५ लाख ४९ हजार ५ सय रुपैयाँ खर्च विवरण बुझाएका छन् ।
