• Tuesday 6th of October 2026

सशस्त्रको गुल्मभित्र प्रवेश गरी डीएसपीमाथि हातपात


  • धनकुटा खबर
  • .

काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपीमाथि अभद्र व्यवहार गरिएको छ । कैलालीको टीकापुरस्थित सीमा सुरक्षा गुल्मका प्रमुख एवं डीएसपी प्रदीप पौडेलमाथि त्यहाँभित्र प्रवेश गरेर केही युवाले बुधबार (चैत ४) अभद्र व्यवहार गरेका हुन् ।

सशस्त्र प्रहरी बलका अनुसार, तस्करीको केही सामान बरामद गरिएको थियो । त्यसक्रममा तस्करीमा संलग्न केही युवा र सशस्त्र प्रहरीका सुरक्षाकर्मीबीच वादविवाद भएको थियो । सोहीक्रममा केही युवा गुल्मभित्र प्रवेश गरेर कार्यालय प्रमुख डीएसपीमाथि हातपातमा उत्रिएका हुन् ।
डीएसपीमाथिको अभद्र व्यवहारको भिडियो यति बेला सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।

घटनाबारे सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले छानबिन थालेको छ । छानबिनका निम्ति गुल्मका अधिकांश सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । नम्बर ४३ गण वनभेडा (कैलाली)बाट २७ जनाको नयाँ टोली त्यहाँ पठाइएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले घटनाको छानबिनका निम्ति ४३ गण वनभेडाका प्रमुख तथा एसपी अनिल कार्कीको टोली टीकापुरस्थित सीमा सुरक्षा गुल्ममा पुगेको जानकारी दिए ।

“सुरक्षाकर्मीको कार्यालयभित्र नै केही युवाहरू प्रवेश गरेर अभद्र व्यवहार भएको छ । यो घटनालाई हामीले गम्भीर रूपमा लिएका छौँ,” डीएसपी थापाले बाह्रखरीसित भने, “आन्तरिक छानबिन पनि थालिसकेका छौँ । त्यसबारे छानबिनपछि थप के गर्नुपर्ने देखिन्छ, हामी सोहीअनुसार गर्छौं ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖