काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ।
बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार भएको सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीलगायत विपक्षी निकायसँग लिखित कारण माग गरेको हो।
प्रसाईंकी श्रीमती उमा प्रसाईंले मंगलबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
यसअघि काठमाडौं जिल्ला अदालतले असोज १२ गते प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
प्रसाईंलाई यसअघि पनि विभिन्न आरोपमा पक्राउ गरी अनुसन्धानपछि रिहा गरिएको थियो।
