• Tuesday 6th of October 2026

यसरी गुफाभित्र बस्यो गाउँपालिकाको बैठक


  • धनकुटा खबर
  • .

तनहुँको बन्दीपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ। विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दीपुर-४ स्थित सिद्धगुफाभित्र कार्यपालिका बैठक गरिएको हो।

सिद्धगुफाको प्रचारप्रसार र पर्यटन दिवसका अवसर पारेर गुफाभित्रै बैठक बसेर विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘आज पर्यटन दिवस रहेकाले कार्यालयमा भन्दा सिद्धगुफा बैठक बसेर पर्यटन प्रबर्द्धनका लागि गाउँपालिका सधैं प्रतिबद्ध रहेको छ भन्ने सन्देश दिन खोजेका हौं।’

उक्त बैठकले आगामी माघ १९ गते सिद्धगुफा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्धगुफा समुद्री सतहबाट छ सय मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्दछ।

२०४४ चैत १३ गते स्थानीय चन्द्रबहादुर सम्लिीङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो।

पुरातत्वविदका अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार पाँच सय वर्ष पुरानो मानिएको छ। सुरूमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाको पैसा, पानीको घैंटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्तो आदि इस १६ र १७ औं शताब्दी अघिको अनुमान गरिएको छ।-रासस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖