• Saturday 17th of October 2026

पङ्गेनी परिवारमा शोकको शृङ्खला : सिर्जनाको प्रेरक सङ्घर्ष, पत्नी र दुई छोराको वियोगमा छट्पटाउँदै मीनराज


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रीमान विवेक पङ्गेनीको निधन भएपछि जीवनसङ्गिनी सिर्जना एक्लिएकी छन् । सामाजिक सञ्जालमा सबैका प्रिय जोडी विवेक र सिर्जना पङ्गेनीको कथा प्रेम र सङ्घर्षको प्रतिक नै बनेको थियो ।

टिकटकबाट सबैका प्रिय बनेका यी दुईका प्रेम र समर्पणका क्षणले धेरैलाई छोएको थियो । तर, गत शुक्रबार विवेकले यो धर्ती छाडेपछि सिर्जनाको मात्र होइन, पङ्गेनी परिवारकै सपना उजाडिएका छन् ।

सिर्जनाको सिउँदो पुछिएको मात्र छैन, उनको परिवार एकपछि अर्को वियोगले थलिएको छ । श्रीमान गुमाएर सिर्जना एक्लिएकी छन् तर, यो मात्र उनको पीडाको कथा होइन ।

केही वर्षअघि विवेककी आमाको निधन, चार महिनाअघि भाइको मृत्यु, र अहिले स्वयं विवेकको वियोगले पङ्गेनी परिवार धारावाहिक शोकमा डुबेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा ५ राजपुर मैनापोखरका उनीहरू पछिल्लो समय अमेरिकामा थिए । विवेक, जो ब्रेन क्यान्सरसँग जुधिरहेका थिए, उनलाई नयाँ जीवन दिन श्रीमती सिर्जनाले आफ्नो जीवन अर्पण गरिरहेकी थिइन् ।

विवेक उपचाररत थिए, सिर्जनाको लागि युद्धभूमि बनेको थियो अमेरिकी भूमि । गम्भीर रोग क्यान्सरसँग जुधिरहेका भए पनि श्रीमान् मुस्कुराइरहुन् भन्ने सिर्जनाको अथक प्रयास जारी रहन्थ्यो ।

बिरामी श्रीमान विवेकप्रतिको सिर्जनाको समर्पण सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बन्यो । विवेकले जति शारीरिक पीडा सहनुपर्‍यो, सिर्जनाले त्यति नै मनको पीडा सहँदै सङ्घर्ष गरिन् ।

२०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्न अमेरिका पुगेका थिए विवेक । सुखसयलसँग बढिरहेको उनको जीवनको कथा त्यतिखेर मोडियो, जब अमेरिका पुगेको पाँच महिनामै आमाको निधन भयो ।

आमा गुमाएको शोकमा उनी नेपाल फर्किए । काजकिरिया सकेर फर्किन लाग्दा आफैँलाई क्यान्सर भएको थाहा भयो । त्यो पनि, चौथो चरणको ब्रेन क्यान्सर । उतै उपचार गर्ने भन्दै अमेरिका लागे । अमेरिका पुगेपछि विवेकको जीवनसँगको संघर्ष झन् कठिन बन्न थाल्यो ।

तर, यो मात्र पर्याप्त थिएन । विवेकको परिवारमाथि अर्को बज्रपात पर्‍यो । गत दशैंअघि मात्र विवेकका भाइ विपिन सडक दुर्घटनामा परेर बिते । यति छोटो समयको अन्तरालमा दुःखले थिचिएका सिर्जना र उनको परिवारले फेरि विवेकलाई गुमाउनुपर्‍यो ।

श्रीमानको उपचार खर्चको लागि सिर्जना केही काम गर्थिन् । तर, श्रीमानको स्याहार पनि गर्नुपर्ने हुँदा धेरै समय दिन सक्ने थिइनन् । त्यसैले सिर्जनाले विवेकको उपचारका लागि सामाजिक सञ्जालमा सहयोग मागिन् । विश्वभर छरिएर रहेका नेपालीले सहयोगको हात अघि बढाए ।

क्यान्सरको गम्भीर अवस्थाका बाबजुद सिर्जनाले विवेकलाई हरपल प्रेरित गरिरहिन् । श्रीमान मुस्कुराएको देख्न उनले आफ्ना दुःख लुकाइन । सिर्जनाको यो प्रयासले धेरैलाई प्रेरणा दियो । विवेकसँगका उनका भिडिओ, जसमा दुवै जनाको मुस्कान र सङ्घर्ष देखिन्थ्यो, सामाजिक सञ्जालमा निकै चर्चित बने ।

विवेकको निधनपछि सिर्जना एक्लो बनेकी छन् । तर, उनलाई नआत्तिन र जीवनलाई अगाडि बढाउन समाजले आग्रह गरिरहेको छ । प्रेम र सङ्घर्षको यो कथा धेरैका लागि प्रेरणा बनेको छ ।

सिर्जनाको समर्पणले एउटा गहिरो सन्देश दिएको छ—‘प्रेम भनेको केवल खुसीका दिनमा साथ दिनु होइन, सङ्घर्षका दिनमा साथ नछोड्नु पनि हो ।’

मृतक विवेकका बुबा ५६ वर्षिय मीनराज जो अहिले अमेरिका पुगेका छन् । केही वर्षअघि श्रीमती र चारमहिनाअघि कान्छो छोरा गुमाएका मीनराजमाथि समयले फेरि एक पटक चोट दिएको छ ।

विवेकको निधनपछि उनको पार्थिव शरीर लिन अमेरिका पुगेका मीनराजलाई घरमा कान्छी बुहारी र नाति पनि सम्हाल्नुपर्ने छ ।

परिवारको मूलीको रूपमा उनीमाथि अहिले छोरा गुमाएको पीडाले थिचिएर बुहारीलाई सान्त्वना दिनुपर्ने मात्रै होइन नातिको भविष्यको चिन्ता लिँदै आफूमाथि भर पर्ने सबैलाई सम्हाल्नु परिरहेको छ ।-नेपालभ्युज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖