• Saturday 17th of October 2026

फेरि भित्रिंदै छ पानी पार्ने प्रणाली, काठमाडौंमा समेत देखिने छ प्रभाव


  • धनकुटा खबर
  • .

काठमाडौं । आज बिहान देशभर देखिएको बादल अपराह्नदेखि हटेर मौसम घमाइलो हुने मौसमविदले बताएका छन् । तर शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने सम्भावना छ ।

यो प्रणालीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी वर्षा गराउने पूर्वानुमान छ । शनिबार पनि देशैभर पूर्णतया बदली हुने र काठमाडौंसहित केही भागमा हल्का वर्षाको सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार काठमाडौं उपत्यकासहित केही स्थानमा फाटफुट वर्षा भएको थियो । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात भएको थियो ।

मंगलबारको तुलनामा आज मौसम सफा रहने मौसमविद डा. विनोद पोखरेलले बताए । ‘आज बिहानपख काठमाडौं उपत्यकाका लागेको आंशिक बादल केही घण्टापछि हट्ने छ र अपराह्नदेखि घमाइलो मौसम रहने छ,’ उनले भने ।

तर शुक्रबार बेलुका फेरि पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने उनले बताए । ‘यो प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ,’ पोखरेलले भनेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा पनि बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जनाएको छ ।

विभागले बिहीबार बिहान पनि तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । यसबाट जाडो महसुस हुने हुँदा स्वास्थ्य, यातायात, नागरिक उड्डयन क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖