जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरकी करिब ५० वर्षीय रेसमी देवी बिनको हत्या भएको हो ।
हत्या गरी शौचालय पछाडि गाडेको अवस्थामा उनको शव बरामद भएको छ । बुधवार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरी गाडिएको शव निकालिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।
हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान् दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा रक्सीले लट्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक साहले बताए ।
प्रहरीका अनुसार श्रीमान्–श्रीमतीबिच दिनहुँ जसो विवाद भइरहेको थियो । बुधवार दिउँसो १२ बजेसम्म पनि उनीहरूबिच विवाद भएको उनकी बुहारीले प्रहरीलाई बताएकी छन् ।
‘श्रीमान् रक्सीले लट्ठिएका थिए । साँझ तीर बुहारीले सासू कहाँ छन् भनेर सोधपुछ गर्दा घर पछाडि मारेर फालिदिएको बताएछन् । त्यसपछि परिवारले प्रहरीलाई बोलाएछन्, खाल्डो खन्दा शव भेटियो,’ प्रहरी निरीक्षक साहले भने ।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
