• Saturday 17th of October 2026

चोरी गर्न गएका व्यक्तिको करेन्ट लागेर मृत्यु, दुईजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । ललितपुरमा चोर्न गएका व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । १० दिनअघिको यो घटना प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको छ ।

ललितपुरको भैंसेपाटीस्थित प्रहरी प्रभागको पछाडि २ पुसको बिहानै एक व्यक्ति अचेत अवस्थामा भेटिएका थिए । टाउको फुटेको अवस्थामा सडक किनारमा अचेत भेटिएका ती व्यक्तिलाई प्रहरी प्रभाग भैंसेपाटीको टोलीले उपचारका लागि पाटन अस्पताल ल्याएको थियो ।

अस्पताल पु¥याएको केहीबेरमै ती व्यक्तिलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ती व्यक्ति थिए, केशरबहादुर गोले । घाइतेलाई उपचारका लागि ल्याउँदा उनका साथी किशोर कार्की पनि प्रहरीसँगै अस्पताल आएका थिए । किशोरले प्रहरीसँग राति ‘गोल रात्री क्लबतिर जान्छु’ भनेर निस्केको बताएका थिए ।

टाउको फुटेको अवस्थामा भेटिएकाले सुरुमा प्रहरीले हत्याको आशंका पनि अनुसन्धान गरेको थियो । तर फरेन्सिक चिकित्सकले उनको हात ‘बर्न’ (जलेको) जस्तो समेत देखिएको बताएपछि प्रहरीले अन्य कोणबाट पनि अनुसन्धान अघि बढाएको थियो ।

‘टाउको चिरिएको जस्तो देखिएकाले धारिलो हतियार प्रहार भयो कि भन्ने आशंका गरेका थियौं,’ जिल्ला प्रहरी परिसर ललितपुरका एक अनुसन्धान अधिकृत भन्छन्, ‘तर फरेन्सिक जाँचका क्रममा त्यस्तो नदेखिएपछि अन्य कोणबाट अनुसन्धान गर्दा घटना भवितव्य देखियो ।’

फरेन्सिक विज्ञको सुझावपछि प्रहरीले वरपरका क्लोज सर्किट क्यामेरा (सीसीटीभी) फुटेजहरूको संकलन गरेर अनुसन्धान सुरु गरेको थियो । सो क्रममा १ पुस गते राति १० बजेतिर मृत व्यक्ति ट्रान्समिटरमा चढ्ने क्रममा करेन्टको झड्काले फालेको दृश्य भेटिएको थियो । फुटेजमा देखिएका अन्य व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान गर्दा चोरी गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको खुलेको ललितपुर परिसरका एसएसपी शेखर खनालले बताए ।

महोत्तरी घर भएका नकुल बस्नेत बिजुलीसम्बन्धी कामको ठेक्का गर्दै आएका थिए । उनी बिजुलीको पाल गाड्ने, तार टाँग्नेदेखि, ट्रान्समिटर राख्ने र अर्थिङसम्बन्धी कामहरू गर्ने गर्थे ।

उनै बस्नेतको ड्राइभरको रुपमा गोले (मृतक) ले पनि काम गर्र्दै आएका थिए । बस्नेतले गोलेसँगै किशोर अनिल गोले, राजु तामाङलाई मजदुरीको काममा लगाएका थिए ।

१ पुसको दिउँसो उनीहरुले भैंसेपाटी प्रहरी प्रभाग पछाडि ट्रान्समिटर राखेर त्यसको अर्थिङ गर्न तार तल जमिनमा ल्याएका थिए । आफैंले दिउँसो काम गरेको उक्त ठाउँमा राति अर्थिङको तामाको तार चोरी गर्न भन्दै मृतक गोलेसँगै किशोर अनिल पुगेका थिए ।

ललितपुरको चुनिखेलस्थित एक टहरमा उनीहरू चारै जनासँगै बस्दै आए पनि राजु भने त्यस राति घरमै सुतेका थिए । मदिरा पिएर उनीहरू हिँड्दै दिउँसो काम गरेको ठाउँमा राति १० बजेतिर पुगेको खुलेको छ । त्यसपछि तामाको तार काट्ने भन्दै केशरबहादुर गोले ट्रान्समिटरमा चढेका थिए । किशोर र अनिल भने भुईँमा बसेका थिए ।

तार काट्ने क्रममा केशरबहादुर गोलको हातले ट्रान्समिटरमाथिको बिजुलीको नांगो तारलाई छोएपछि उनलाई करेन्ट लागेको थियो । करेन्टको झड्काले भुईँमा फाल्दा सडकको नालीमा उनको टाउको बजारिन पुगेको थियो ।

सीसीटीभी फुटेजबाट यो सबै कुरा पत्ता लागेपछि परिसर ललितपुरले गोलेसँगै चोरी गर्न भएका किशोर र अनिललाई अहिले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । करेन्टको झड्काले भुइँमा फालिदिएपछि उनीहरू भने फरार भएका थिए । प्रहरीसमक्ष उनीहरूले भागेको स्वीकार गरेका छन् ।

‘उठाएर अस्पताल लान थालियो भने उल्टै ज्यान मुद्दामा फसिन्छ जस्तो लागेर केही नगरी हामी भागेका हौं,’ हिरासतमा रहेका किशोर र अनिललाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने । तत्कालै गोलेलाई उपचारका लागि अस्पताल पुर्‍याएको भए बाँच्नसक्ने सम्भावना रहेपनि फस्नसक्ने भन्दै उनीहरू फरार भएको देखिएको छ ।

त्यसपछि उनीहरू त्यो रात चुनिखेलस्थित आफ्नै टहरोमा गएर बसेका थिए । पक्राउ परेका उनीहरूमाथि अहिले चोरीको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘अहिलेसम्म चोरीको कसुरमा उनीहरूमाथि अनुसन्धान गरेका छौं । घटना भवितव्य देखिन्छ । अनुसन्धानको क्रममा केही नयाँ तथ्य आए सोही अनुसार मुद्दा कन्भर्ट गर्छौं,’ परिसरका एसएसपी खनाल भन्छन् ।

उनीहरूले चोरी गर्न लागेको तामाको तार जम्माजम्मी २ किलो जतिको मात्रै रहेको प्रहरीले जनाएको छ । उक्त तार बेच्दा उनीहरूले २ हजार रुपैयाँसम्म आउने बताएका छन् ।

पक्राउ परेका दुई र मृतक गोले यसअघि कुनै पनि चोरीमा संलग्न रहेको व्यक्तिहरू नरहेको देखिएको छ । प्रहरीले उनीहरू पक्राउ परेपछि क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) हेरेको थियो । सो क्रममा उनीहरूको क्रिमिनल रेकर्ड नदेखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖