• Friday 16th of October 2026

आमाको शव देखेर ढलेकी छोरीको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी: बझाङको थलारा गाउँपालिका-९, आमबगर टोलमा एकै परिवारका आमा र छोरीको निधन भएपछि गाउँ शोकमा डुबेको छ।

शनिबार लामो समयदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै आएकी ४५ वर्षीया पञ्चमाला जोशीको माथिबाट खसेको ढुंगा लागेर ज्यान गएको थियो। मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला यो दुर्घटना भएको हो।

आमाको निधनको खबर पाएपछि धनगढीमा अध्ययनरत उनकी छोरी रोहिणी जोशी आइतबार बिहान घर पुगेकी थिइन्। शव देख्नासाथ बेहोस भएकी रोहिणीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई आफन्तहरूले चैनपुरस्थित जिल्ला अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

यो दुःखद घटनाले आमबगर गाउँ शोकमा डुबेको छ। स्थानीयहरूका अनुसार पञ्चमाला जोशी सामाजिक सेवामा सक्रिय महिला थिइन्। उनकी छोरी रोहिणी पनि उज्ज्वल भविष्यका लागि संघर्षरत विद्यार्थी थिइन्।

एकैदिन आमा-छोरी दुवैको निधनले गाउँलेहरू स्तब्ध छन्। यस घटनाले परिवार र गाउँलाई गहिरो चोट पुर्‍याएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖