• Friday 16th of October 2026

बाटोमै बच्चा जन्माएकी सविताको अत्यधिक रक्तस्राबका कारण अस्पताल नपुगी बाटोमै शिशुसँगै त्यागिन् प्राण


  • धनकुटा खबर
  • .

बझाङमा अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै बच्चा जन्माएकी महिलाको मृत्यु भएको छ।

सोमबार अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका वडा नम्बर १ डुडिलकी २१ वर्षीया सबिता बोहराको मृत्यु भएको हो।

सुत्केरी ब्यथा लागेपछि समयमै स्वास्थ्य संस्थामा नपुग्दा उनको मृत्यु भएको जनप्रतिनिधिले बताएका छन्।

केदारस्युँ गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष वीरबहादुर भण्डारीकाअनुसार मृतक सबितालाई आइतवार साँझ सुत्केरी ब्यथाले च्यापेको थियो। सोमबार बिहान चार बजे अत्यधिक गाह्रो भएपछि उनका सासुससुराले स्वास्थ्य संस्थामा पुर्‍याउँदै थिए।

घरबाट केही समय पर गएपछि सबिताले बाटोमै बच्चा जन्माइन्। बच्चा जन्माएको केही समयैपछि उनको अत्यधिक रक्तश्राव हुन थाल्यो। सासुससुरा आत्तिए र रायल प्राथमिक स्वास्थ्य केन्द्रमा फोन गरे। त्यहाँबाट एक जना एचए (हेल्थ असिस्टेन्ट) र अनमी गरी दुई जना स्वास्थ्यकर्मीसहित एम्बुलेन्स घटनास्थल पुग्यो। स्वास्थ्यकर्मीको टोली त्यहाँ पुग्दा आमा र शिशुको अवस्था चिन्ताजनक रहेको उनीहरूले बताएका छन्।

दुवैलाई एम्बुलेन्समा प्राथमिक केन्द्रसम्म पुर्‍याउँदा उनीहरूको मृत्यु भएको अध्यक्ष भण्डारीले स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी दिए। सबिताको यो पहिलो बच्चा थियो।

ब्यथा लाग्ने वित्तिकै उनलाई अस्पताल पुर्‍याइएको भए यस्तो घटना नहुने भण्डारीले बताए।

‘गाउँघरमा अझै चेतना कम छ, ब्यथा लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा खबर गरेको भए हामीले एम्बुलेन्स पठाउथ्यौं, रायल प्राथमिक केन्द्रमा हाम्रो २४ सै घण्टा एम्बुलेन्स सेवा छ, अन्तिम अवस्थामा खबर भयो, यस्ता घटना हुन नदिन हामीले आमा समूह, स्वास्थ्य स्वयमसेवीकाबाट पनि सचेतना पार्ने काम गर्दै आएका छौं, उहाँको घरबाट रायल प्राथमिक केन्द्र आउन गाडीमा २५ मिनेट र भैरवनाथ स्वास्थ्य केन्द्रमा पुग्न हिँडेरै पनि २० मिनेट र गाडीमा थोरै लाग्छ, तर पनि समयमै स्वास्थ्य संस्थामा नपुग्दा यस्तो भयो,’ उनले भने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖