• Monday 2nd of November 2026

प्रचण्ड नेतृत्वको सरकारले पक्राउ गरेका सुन तस्कर रिहा


  • धनकुटा खबर
  • .

काठमाडौँ – प्रचण्ड नेतृत्वको सरकारले पक्राउ गरेका सुन तस्कर रिहा भएका छन् । चीनको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको तीन किलो सुन प्रकरणका आरोपित रामकृष्ण वाइबा, बुद्धिबहादुर तामाङ, सुनिल तामाङ, नीमा डिण्डुप तामाङ र कमल घले अदालतको धरौटीमा रिहा भएका हुन् ।

उनीहरुलाई जनही ३ करोड ८० लाख ९१ हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवाना समेत मागदाबी गर्दै राजश्व चुहावट (नियन्त्रण तथा अनुसन्धान) ऐन, २०५२ को दफा ३ को कसुर गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।

राजस्व अनुसन्धान विभागले पाँच जनाविरुद्ध १९ करोड बढी बिगो र सोही बराबरको जरिवना मागदाबीसहित उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको थियो । न्यायाधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको इजलासले उनीहरुलाई धरौटीमा रिहा गरेको हो ।

जसमा सबैभन्दा बढी बुद्धिबहादुरसँग १० लाख धरौटी माग गरिएको थियो । बाँकीसँग डेढ–दुई लाख रुपैयाँ धरौटी माग भएको थियो । प्रतिवादी सबै धरौटी बुझाएर रिहा भइसकेको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताएका हुन् ।

ना २ ख ३५९७ नम्बरको गाडीमा फल्स बटम बनाएर यो समूहले गत २४ साउनमा चीनको केरुङ नाकाबाट रसुवा हुँदै ३ किलो सुन तस्करी गरेको थियो । सुन गायब भएपछि चालक रामकृष्ण वाइबालाई समेत अपहरण गरेर बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाइएको समेत खुलेको थियो ।

घटनाको पाँच महिनापछि मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करी तथा अपहरणको कसुरमा पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖